काठमाडौं । तिहार तथा छठ पर्वलाई लक्षित गरी फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा ललितपुरको जावलाखेलस्थित खेलमैदानमा ‘१९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ आजदेखि सुरु भएको छ।
‘रोपेर फूल गोदावरी, सजाऔं घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ सुरु भएको उक्त मेला आगामी ५ दिनसम्म चल्नेछ।
यस वर्षको प्रदर्शनीमा कुल ८६ वटा स्टल राखिएका छन्। जसमध्ये ७८ वटा व्यावसायिक, १ प्लान्ट क्लिनिक, ४ अफिसियल, २ प्रतियोगितात्मक र १ फोटो सेल्फी स्टल रहेका छन्।
मेलामा नेपालमै उत्पादित विविध जातका गोदावरीका साथै यसै वर्ष भित्र्याइएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवाहरू प्रदर्शनी एवम् बिक्री–वितरणका लागि राखिएको आयोजकले जनाएको छ।
प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्महरूबिच प्रतिस्पर्धासमेत गराइएको छ। आयोजकका अनुसार मिनियचर, स्पाईडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर गरी गोदावरीका ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइएको छ।
यसैगरी, उत्कृष्ट स्टल र यस वर्ष थप गरिएको ‘उत्कृष्ट पुष्प सजावट’ विधाका विजेताहरूलाई सिल्ड, नगद तथा प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ।

प्रदर्शनी अवधिभर ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र १ करोड ३० लाखभन्दा बढीको व्यावसायिक कारोबार हुने आयोजकको अपेक्षा छ।
