काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले उक्त घटनाबारे प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन् ।
घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको दाहालले उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्- ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ । उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ ।’
शुक्रबार प्रहरीले पत्रकार विश्वमणि दाहाललाई नियन्त्रणमा लिएको थियो भने नयाँ पत्रिकासहितका मिडियामा सादा पोशाकका प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

