काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री बालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले पत्रकार पक्राउ परेको घटनामा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री कार्यालयको कुनै संलग्नता नरहेको स्पष्ट पारेकी छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले उक्त घटनाबारे प्रधानमन्त्री तथा उनको सचिवालयलाई पूर्वजानकारीसमेत नभएको बताएकी छन् । घटनाबारे जानकारी पाउनासाथ प्रधानमन्त्री बालेन्द्र शाहले नियन्त्रणमा लिइएका पत्रकारलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरेर कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको दाहालले उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्- ‘पत्रकार पक्राउ परेको घटनाप्रति सम्माननीय प्रधानमन्त्रीज्यू, उहाँको सचिवालय तथा प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारिन्छ । उक्त घटनाबारे थाहा पाउनासाथ सम्माननीय प्रधानमन्त्रीज्यूले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा समाचार कक्षमा प्रवेश गरी कुनै पनि प्रकारको धरपकड नगर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसक्नुभएको छ ।’ शुक्रबार प्रहरीले पत्रकार विश्वमणि दाहाललाई नियन्त्रणमा लिएको थियो भने नयाँ पत्रिकासहितका मिडियामा सादा पोशाकका प्रहरी पुगेर पत्रकारलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
२- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समाचार संकलन र सूचना सार्वजनिक गरेकै आधारमा पत्रकार पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उल्लेख गरेका छन् ।
समाचारप्रति असहमति भए त्यसको निरूपण गर्ने कानुनी बाटा हुँदाहुँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारलाई हतोत्साहित पार्नु विधिको शासनविपरीत हुने उनको भनाइ छ । उनले पक्राउ गरिएका पत्रकारलाई तत्काल ससम्मान रिहा गर्न तथा सञ्चारगृहमा हुने अनावश्यक हस्तक्षेप र निगरानी बन्द गर्न माग गरेका छन् । पौडेलले आफ्ना कमजोरी लुकाउन सञ्चारमाध्यमलाई तर्साउने प्रयास तत्काल रोक्न सरकारलाई आग्रह गर्दै पत्रकारमाथि भएका घटनाको कानुनी प्रक्रियाबाट निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन् ।

३- विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार कार्यालय समय सकिएपछि सादा पोशाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति काउन्सिलले आपत्ति जनाएको हो । काउन्सिलका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर विषय हो । यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि प्रश्न उठाएको काउन्सिलको भनाइ छ ।

समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भए त्यसको छानबिन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिलको रहेको उल्लेख गर्दै काउन्सिलले प्रहरी परिचालन गर्नुको सट्टा स्थापित कानुनी प्रक्रिया अपनाउन सरकार र प्रहरी प्रशासनलाई आग्रह गरेको छ । काउन्सिलले नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न तथा कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए रिहा गर्न माग गरेको छ । साथै, पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्दै आचारसंहिताको पालना गर्न पनि आग्रह गरेको छ ।

४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि सोधपुछ, धरपकड र पक्राउ भइरहेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता जगदीश खरेलले यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता मौलिक अधिकार भएको र त्यसप्रति पार्टीको सम्मान तथा जिम्मेवारी रहेको बताएका छन् । उनले समाचार लेखेकै आधारमा कुनै पनि पत्रकार वा सञ्चारकर्मीलाई गैरकानुनी रूपमा पक्राउ गर्न नमिल्नेमा रास्वपा स्पष्ट रहेको बताएका छन् । खरेलले न्याय खोज्ने अन्य धेरै कानुनी बाटा खुला रहेको उल्लेख गर्दै तिनै माध्यम अवलम्बन गर्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- विभिन्न संचारमाध्यमका पत्रकार तथा संचारकर्मीलाई सोधपुछ, धरपकड तथा पक्राउको समाचार संचारमाध्यम तथा सामाजिक संजालमा आइरहेको प्रती राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गम्भीर ध्यानाकर्षण भएको छ । यसबारे स्पस्ट पार्न हामी सरकारको ध्यानाकर्षण गराउछौं । मौलिक अधिकारको रुपमा रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रती पार्टीको सम्मान तथा जिम्मेवारी रहेको पनि स्पष्ट पार्न चाहान्छौं । समाचारकै विषयमा कुनै पनि पत्रकार वा संचारकर्मीलाई गैरकानुनी रुपमा पक्राउ गर्न मिल्दैन भन्नेमा रास्वपा स्पस्ट छ । न्यायको खोजी गर्ने अरु धेरै बाटोहरु खुला नै छन, त्यसलाई अवलम्बन गरौं ।
५- नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति र पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्डले ट्राभल कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरबाट आवेदन आह्वान गरेको छ । बोर्डले नेपालको हिमाली क्षेत्रदेखि ओझेलमा परेका पर्यटकीय गन्तव्य, जीवन्त संस्कृति र परम्परालाई तस्बिर, भिडियो तथा अन्य सिर्जनात्मक सामग्रीमार्फत विश्वसामु पुर्याउने उद्देश्य राखेको छ ।
यस अभियानमा सहभागी हुने सिर्जनशील व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको उपयोग गर्दै नेपालको पर्यटन पहिचान अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न सक्ने बोर्डको अपेक्षा रहेको बोर्डले जनाएको छ । इच्छुक कन्टेन्ट क्रियटर, भिडियोग्राफर तथा फोटोग्राफरले आफ्नो नाम, ठेगाना, सम्पर्क विवरण र सामाजिक सञ्जालको परिचय वा कामको नमुनासहित सन् २०२६ नोभेम्बर ५ भित्र आवेदन दिन बोर्डले आव्हान गरेको छ ।
६- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले सञ्चारमाध्यम र पत्रकारमाथि भइरहेको भनिएका गतिविधिप्रति आपत्ति जनाएका छन् । नेता ज्ञवालीले सामाजिक सञ्जालमा लेख्दै मिडिया हाउसको प्रवेशद्वारमा गाडी तेर्स्याएर आतङ्कित पार्ने, झुटा मुद्दा लगाउने र पक्राउ पुर्जीबिनै पक्राउ गर्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् । ज्ञवालीले समाचारसँग सरकार किन यति धेरै डराएको भन्दै पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भनेका छन्- ‘कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतङ्कित पार्ने कोशिस, कहिले झुठा मुध्दा, कहिले बिना पूर्जी पक्राउ । समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !’
७- जेनजी अभियन्ता रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसको नेतृत्वमा रहेको सरकारको कार्यशैलीप्रति प्रश्न उठाएकी छन् । उनले पार्टी सभापति रवि लामिछानेलाई लक्षित गर्दै अब सुशासनको नारा नलगाउन सुझाव दिएकी छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बमले सरकारको कार्यशैलीमा पञ्चायती शासनको झल्को देखिएको टिप्पणी गरेकी छन् । उनले सञ्चारगृह अगाडि आफ्नै कार्यकर्ता परिचालन गरेर गाडी तेर्स्याउनेदेखि सञ्चारगृहभित्रै प्रवेश गरेर पत्रकारलाई तर्साउनेसम्मका गतिविधि भइरहेको आरोप लगाएकी छन् ।
उनले यस्ता गतिविधिलाई सुशासनको नारासँग मेल नखाने भन्दै रास्वपाको नेतृत्वमाथि व्यङ्ग्य गरेकी छन् । उनले भनेकी छन्- ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ । तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ । कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने । वाह, तपाईंहरूको सुशासन !
८- सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले तीन स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ । मन्त्रालयले जुम्लाको कनकासुन्दरी गाउँपालिका, पर्साको जिराभवानी गाउँपालिका र काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाको आर्थिक अधिकार रोक्का गरेको हो । मन्त्रालयका अनुसार सरुवा भएका कर्मचारी पुरानै स्थानीय तहमा कार्यरत रहँदै आएका थिए भने नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराइएको थिएन । मन्त्रालयले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक तथा प्रशासनिक जिम्मेवारीसहित तत्काल कामकाजमा लगाउन निर्देशन दिएको छ । साथै, आर्थिक अधिकार रद्द गरिएको जानकारी सम्बन्धित कोष तथा लेखा नियन्त्रक कार्यालयलाई गराउँदै खाता सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ ।
९- पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले समाचार कक्षबाट नियन्त्रणमा लिएको छ । सुवेदीलाई कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिइएको हो । नेपाल प्रेसले सुबेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको उल्लेख गरेको छ । सुबेदीलाई साइबर ब्युरो लागिएको बताइएको छ । त्यस्तै, नयाँ पत्रिकाको कार्यालयमा सादा पोसाकका प्रहरी प्रवेश गरेका छन् । पत्रकार नवराज मैनालीलाई लिन आएको भन्दै उनीहरु आफ्नो कार्यलयमा आएको नयाँ पत्रिकाले उल्लेख गरेको छ । समाचार लेखेकै आधारमा पत्रकार नवराज मैनालीलाई कार्यालयमा उपस्थित गराउन भन्दै उक्त समूहले धरपकड गर्ने प्रयास गरेको नयाँ पत्रिकाले उल्लेख गरेको छ । उनीहरुले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश अनुसार पत्रकार मैनालीलाई लिन आएको बताएका छन् ।
१०- गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन-प्याब्सन) को संगठन निलम्बन गरेको छ । राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम नेपाल सरकारको स्वीकृति लिएर सञ्चालनमा रहेको उक्त संगठनले मन्त्रालयको निर्देशन पालना नगरेको भन्दै निलम्बन गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एनप्याब्सनले ऐनको दफा ५ बमोजिम जारी निर्देशन पटकपटक पालना नगरेको तथा संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान र संगठनको मूल उद्देश्यविपरीतका गतिविधि गरेको पाइएको छ ।
यस विषयमा मन्त्रालयले सम्बन्धित पदाधिकारीलाई २०८२ कात्तिक १२ गते जारी निर्देशनअनुसार काम गर्न अवसर दिएको थियो। तर निर्देशन पालना नगरेको भन्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिमको निर्देशन उल्लङ्घन गरेको ठहर गरिएको सूचनामा जनाइएको छ । सोही ऐनको दफा ६ को उपदफा २ अनुसार संगठनलाई गृह मन्त्रालयले निलम्बन गरेको जनाएको छ । मन्त्रालयले सूचना जारी भएपछि संगठनको नाममा कुनै पनि समूह वा गुटबाट हुने गतिविधि गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
११- जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरिया र सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाललाई प्रहरीले नियन्त्रणमा लिएको समाचारप्रति नेपाल इन्जिनियर्स एशोसिएसनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एशोसिएसनले कानुनी शासन, विधिको प्रक्रिया र व्यक्तिको मौलिक हकको सम्मान गर्दै कुनै पनि व्यक्तिलाई नियन्त्रणमा लिँदा स्थापित कानुनी प्रक्रिया तथा आवश्यक आधारको पूर्ण पालना हुनुपर्ने बताएको छ ।
आधिकारिक कारण र कानुनी आधार सार्वजनिक नगरी गरिने गिरफ्तारीले विधिको शासन तथा पेशागत मर्यादामाथि प्रश्न उठ्ने भन्दै एशोसिएसनले यसप्रति असहमति जनाएको छ । एशोसिएसनले सम्बन्धित निकायसँग गिरफ्तारीको कानुनी आधार र कारण तत्काल सार्वजनिक गर्न तथा दुवै इन्जिनियरको मानव अधिकार र कानुनी अधिकार सुनिश्चित गर्न माग गरेको छ। साथै, अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनसम्मत रूपमा अघि बढाउन आग्रह गरेको छ । रजौरिया र रिजालले ठेक्का तोड्न अस्वीकार गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको बताइए पनि प्रहरीले पक्राउ बारे औपचारिक जानकारी दिएको छैन ।
१२- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ५.४५ अंकले घटेर २६९०.१५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४८ कम्पनिका २ करोड २८ लाख ६२ हजार५५४ कित्ता शेयर ८ अर्ब ८९ करोड १५ लाख ९५ हजार १४५ मा कारोबार भएको थियो । आज विकास बैंक, म्युचुअल फण्ड, निर्जीव बीमा अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने स्वाभिमान लघुवित्तको शेयर १२.११ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी मेन्छियाम हाइड्रोको शेयर ४.०८ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी लुम्बिनी विकास बैंकको ३८ करोड ४८ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको ३० करोड ३९ लाख बराबरको कारोबार भएको छ ।
१३- अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति बढाएपछि इरानमाथि फेरी आक्रमण गर्न सक्ने अड्कलबाजी शुरु भएको छ । पछिल्लो एक सातामा १० भन्दा बढी अमेरिकी सैन्य मालवाहक विमान दक्षिणी इजरायलका सैन्य विमानस्थलमा अवतरण गरेका छन् । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार पश्चिम एसियाका अमेरिकी सैन्य कमान्डर एडमिरल ब्राड कुपरसँग ह्वाइट हाउसमा भेट गरेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार भेटमा कुपरले इरानमाथि सम्भावित सैन्य आक्रमणका विकल्पबारे जानकारी गराएका थिए । बैठकमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथ र संयुक्त सैन्य प्रमुखका अध्यक्ष डान केन पनि सहभागी थिए ।
अमेरिकाले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि इरानका ऊर्जा केन्द्र, आणविक केन्द्र तथा क्षेप्यास्त्र र ड्रोन भण्डारलाई लक्षित गरी छोटो तर तीव्र सैन्य कारबाही गर्ने विकल्पबारे छलफल गरिरहेको बताइएको छ । अमेरिकाले इजरायलसँगै साउदी अरब, कतार, कुवेत र जोर्डनस्थित आफ्ना सैन्य अखडामा पनि विमान तथा सैन्य सामग्री पठाएको छ । सम्भावित आक्रमणअघि हवाई सुरक्षा बलियो बनाउन अमेरिकाले प्याट्रियट क्षेप्यास्त्र प्रणालीसमेत पश्चिम एसिया पठाइरहेको समाचारमा उल्लेख छ । यसैबीच अमेरिका र इरानबीच वार्ता पुनः सुरु गर्ने प्रयास पनि भइरहेको बताइएको छ । इरानले अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पत्र प्राप्त गरेको जनाएको छ । तर त्यसको जवाफ दिएको छैन । अर्कोतर्फ, ट्रम्पले उक्त सम्पर्क शान्ति वार्ताका लागि नभई इरानले माग गरेको औषधि तथा अत्यावश्यक सामग्री सहयोगसँग सम्बन्धित रहेको बताएका छन् । यसैबीच, होर्मुज जलडमरूमध्य नजिक तीनवटा तेलवाहक जहाजमा विस्फोट भएर आगलागी भएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन् । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले ती जहाजले अनुमति नलिएको समुद्री मार्ग प्रयोग गरेको र सुरक्षा चेतावनी बेवास्ता गरेको दाबी गरेको छ ।
१४- नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको छ । संघको कात्तिक १२ मा बसेको बैठकले अण्डाको नयाँ समर्थन मूल्य तोकेको संघका महासचिव मदन पोखरेलले जानकारी दिएका छन् । संघले चितवनलाई आधारमानी अण्डाको डिपो/ डिलर होलसेल बिक्रि समर्थन तय गरेको जानकारी दिएको छ ।
जसअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ । संघका अनुसार एक्सएल अण्डा (१४:५-१४:८ केजी) को समर्थन मूल्य अब ३९०० पुगेको छ भने ठुलो अण्डा (१३.५-१३.८ केजी) को समर्थन मूल्य ३८०० पुगेको छ । त्यसैगरी मिडियम अण्डा (१२.५- १२.८ किलो) को समर्थन मूल्य ३७०० पुगेको छ भने सानो अण्डा (११+) को ३२०० पुगेको संघले जनाएको छ । यसअघि एक्सएल अण्डाको ३७००, ठुलो अण्डाको ३६००, मिडियम अण्डाको ३५०० र सानो अण्डाको ३१०० रहेको थियो । त्यस्तै, संघले उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा २५ र मिडियम अण्डाप्रति दुई वटाको ४५ कायम गरिएको जनाएको छ ।
१५- विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी कारोबार गर्ने कम्पनी बाइनान्समा ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको आशंका गरिएको छ । बिहीबार सार्वजनिक गरिएको घटनालाई क्रिप्टोकरेन्सी क्षेत्रकै इतिहासमा सबैभन्दा ठूलो साइबर आक्रमण मानिएको छ । बाइनान्सका अनुसार चोरी भएका सम्पत्तिमध्ये करिब आधा रोक्का गर्न सफल भएको छ भने बाँकी रकम अझै आक्रमणकारीको नियन्त्रणमा छ ।
कम्पनीले चोरीबाट भएको सम्पूर्ण क्षति बेहोर्ने प्रतिबद्धता जनाएको छ । प्रारम्भिक अनुसन्धानमा कम्पनीका एक इन्जिनियरको कम्प्युटरमा अनधिकृत पहुँच बनाएर त्यसैको माध्यमबाट डिजिटल सम्पत्ति निकालिएको आशंका गरिएको छ । दुईवटा साइबर अनुसन्धान संस्थाले यस आक्रमणमा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ संलग्न रहेको आशंका गरेका छन् । अनुसन्धान संस्था चेनएनालाइसिसले पनि उक्त समूहको संलग्नता रहेकोमा उच्च विश्वास व्यक्त गरेको छ । यसअघि सन् २०२५ मा बाइबिट नामक कारोबार मञ्चबाट १ अर्ब ५० करोड डलर चोरी भएको घटनाभन्दा यो आक्रमण निकै ठूलो देखिएको छ । घटनापछि बाइनान्सले आफ्नो कारोबार प्रणाली सुरक्षित रहेको पुष्टि नहुँदासम्म रकम झिक्ने सेवा बन्द गरेको छ ।
यसैबीच, डिजिटल मुद्रा जारी गर्ने कम्पनी टिथरले करिब १ अर्ब ६० करोड डलर र सर्कलले ८० करोड डलरभन्दा बढीको शंकास्पद सम्पत्ति रोक्का गरेका छन्। यसरी दुई कम्पनीले संयुक्त रूपमा करिब २ अर्ब ४० करोड डलर बराबरको सम्पत्ति रोक्का गरेका हुन् । बाइनान्सले अपराधीको पहिचान गरी कानुनी कारबाही गर्न सुरक्षा निकायसँग सहकार्य भइरहेको जनाएको छ । अमेरिकी प्रयोगकर्तालाई सेवा दिने बाइनान्स अमेरिकाले भने आफ्नो प्रणाली यस घटनाबाट प्रभावित नभएको स्पष्ट पारेको छ। त्यस्तै, कोइनबेसले पनि आफ्नो कारोबार प्रणाली सुरक्षित रहेको जनाएको छ । साइबर आक्रमणको खबर सार्वजनिक भएपछि विश्वव्यापी क्रिप्टोकरेन्सी बजारमा समेत असर परेको छ । बिटक्वाइनको मूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ भने इथेरियम र सोलानाजस्ता प्रमुख डिजिटल मुद्राको मूल्यमा पनि उल्लेख्य गिरावट आएको छ । सन् २०१७ मा स्थापना भएको बाइनान्सका विश्वभर ३० करोडभन्दा बढी दर्ता भएका प्रयोगकर्ता रहेको बताइएको छ ।
१६- सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश र न्यायाधीशको नाम जोडिएर आएका पछिल्ला समाचारका विषयमा छानबिन गरी यथार्थ सार्वजनिक गर्न माग गरेको छ । शुक्रबार बारका सचिव रमणकुमार कर्णले विज्ञप्ति जारी गर्दै न्यायपालिकाको विषयमा सार्वजनिक भएका विषयले जनविश्वासमै आघात पुगेको भन्दै सर्वोच्च बारले यसबारेमा सत्यता सार्वजनिक हुनुपर्ने माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ- ‘विगत केही दिनदेखि सम्माननीय प्रधानन्यायाधीश र माननीय न्यायाधीशको सम्बन्धमा प्रकाशित समाचारहरूले न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता, गरिमा, जनविश्वासमा आघात पुग्न गएको तथ्यलाइ नकार्न सकिँदैन ।
न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखी प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भीकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्न सरोकारवालालाई अनुरोध गर्दछौँ ।’ साथै, बारले सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा संवैधानिक इजलास गठनमा देखिएको विवाद, न्यायिक काममा बाह्य प्रभाव र न्याय सम्पादनमा बिचौलियाको सक्रियताले न्यायपालिकाप्रतिको जनविश्वास कमजोर बनाएको उल्लेख छ । नेपालको संविधानको धारा १३७ अनुसार प्रधानन्यायाधीशको नेतृत्वमा संवैधानिक इजलास गठन गर्नुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै बारले इजलास गठन नगरी वा नियमित सञ्चालन नगरी न्याय सम्पादनमा ढिलाइ गर्नु उचित नभएको जनाएको छ ।
सर्वोच्च बारले न्यायपालिकाको स्वतन्त्रता र न्यायिक मर्यादालाई अक्षुण्ण राखे प्राथमिक न्यायिक तथा नैतिक कर्तव्यबाट विचलित नभई न्याय सम्पादनको कार्य निर्भिकताका साथ गर्न सक्ने वातावरण निर्माण गर्न अनुरोध गर्दै प्रकाशित समाचार सामग्रीहरू, सम्माननीय र माननीय न्यायाधीशज्यूबाट आएको विज्ञप्ति एवम् अभिव्यक्तिहरूको समेतका आधारमा न्यायको मान्य सिद्धान्त बमोजिम पूर्वाग्रही नभई साधिकार निकायलाई निष्पक्ष छानविन गरी सत्य तथ्य सार्वजनिक गर्न माग गरेको छ । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि थुनामा रहेका इनम सापकोटासँग प्रधानन्यायाधिश र न्यायाधीशहरुको सम्बन्ध रहेको विषय बाहिर आएपछि विषयले अहिले न्यायालयमाथि सार्बजनिक रुपमा प्रश्न उठिरहेको छ ।
१७- अफगानिस्तानका स्टार स्पिनर राशिद खान टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २०० विकेट पूरा गर्ने विश्वकै पहिलो बलर बनेका छन् । बिहीबार जिम्बाब्वेविरुद्धको खेलमा तादिवानाशे मरुमानीलाई आउट गर्दै उनले यो ऐतिहासिक उपलब्धि हासिल गरेका हुन् । राशिदले टी–२० अन्तर्राष्ट्रियमा २०० विकेट पूरा गर्नुका साथै समग्र टी–२० क्रिकेटमा पनि आफ्नो दबदबा कायम राखेका छन् । उनी यसअघि नै ७०० भन्दा बढी विकेट लिँदै टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने बलर बनिसकेका छन् । उनका २०० अन्तर्राष्ट्रिय विकेटमध्ये १५० विकेट एसियाली भूमिमा लिएका छन् । यो एसियामा कुनै पनि बलरले लिएको सर्वाधिक विकेट हो । त्यस्तै, संयुक्त अरब इमिरेट्समा उनले ७९ विकेट लिएका छन् ।
कुनै एक देशमा बलरले लिएको विकेटका आधारमा यो तेस्रो ठूलो संख्या हो । राशिदले टी–२० अन्तर्राष्ट्रियमा आयरल्यान्डविरुद्ध सर्वाधिक ४५ विकेट लिएका छन् । त्यस्तै, जिम्बाब्वेविरुद्ध ३८ विकेट लिएका छन् । उनले जिम्बाब्वेका रायन बर्ललाई सात पटक आउट गरेका छन्, जुन यस प्रारूपमा कुनै एक ब्याटरलाई आउट गरेको सर्वाधिक संख्या हो । राशिदका २०० विकेटमध्ये १४२ विकेट सातौँदेखि १६औँ ओभर अर्थात् मध्य ओभरमा आएका छन् । त्यस्तै, १७औँदेखि २०औँ ओभरसम्म उनले ५६ विकेट लिएका छन्। पहिलो ६ ओभरमा भने उनले केवल दुई विकेट लिएका छन् । राशिदले एकै इनिङ्समा चार वा त्योभन्दा बढी विकेट ११ पटक लिएका छन् । यो उपलब्धि हासिल गर्ने मामिलामा उनी अन्य सबै बलरभन्दा दुई पटक अगाडि छन् । टी-२० क्रिकेटमा सबै भन्दा पहिला ५० विकेट लिने किर्तिमान पाकिस्तानका शहिद अफ्रिदीको नाममा रहेको छ भने १०० विकेट लिने किर्तिमान श्रीलंकाका लासिथ मलिंगाको नाममा रहेको छ । त्यस्तै, पहिलो पटक १५० विकेट लिने किर्तिमान न्यूजील्याण्डका टिम साउथीको नाममा रहेको छ ।
१८- नेपालको सार्वजनिक ऋण ३० खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ असोज मसान्तसम्मको प्रतिवेदनअनुसार सरकारको कुल सार्वजनिक ऋण दायित्व ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.५९ प्रतिशत हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८३/८४ को सुरुवातमा नेपालको कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । असोज मसान्तसम्म आइपुग्दा ऋण दायित्वमा वृद्धि भएको छ । यस अवधिमा विनिमय दरमा भएको परिवर्तनबाट मात्रै १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँ बराबरको नाफा भएको प्रतिवेदनमा उल्लेख छ । कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत र बाह्य ऋणको हिस्सा ५३.१३ प्रतिशत रहेको छ ।
रकमका आधारमा आन्तरिक ऋण १४ खर्ब १० अर्ब ३१ करोड ९ लाख रुपैयाँ र बाह्य ऋण १५ खर्ब ९८ अर्ब ८० करोड ५७ लाख रुपैयाँ पुगेको छ । सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड ७ लाख रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । तर असोज मसान्तसम्ममा एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ । यो वार्षिक लक्ष्यको १८.७३ प्रतिशत हो । प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा सबैभन्दा बढी छ । असोज मसान्तसम्म सरकारले एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको छ । यो आन्तरिक ऋण परिचालनको वार्षिक लक्ष्य ४ खर्ब १० अर्ब रुपैयाँको २४.३९ प्रतिशत हो । त्यस्तै, सरकारले यस अवधिमा २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बाह्य ऋण प्राप्त गरेको छ । यो बाह्य ऋण परिचालनको वार्षिक लक्ष्य २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँको ९.३९ प्रतिशत मात्रै हो । कुल प्राप्त ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.०९ प्रतिशत र बाह्य ऋणको हिस्सा १८.९१ प्रतिशत रहेको छ ।
सरकारले वार्षिक लक्ष्यअनुसार ऋण परिचालन गर्न अझै ५ खर्ब ३४ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ । सरकारले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा ९८ अर्ब ८७ करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ। यो वार्षिक रूपमा विनियोजित ऋण सेवा बजेटको २३.६६ प्रतिशत हो । सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट छुट्याएको छ। असोज मसान्तसम्ममा उक्त बजेटमध्ये ३ खर्ब १९ अर्ब १ करोड ३५ लाख रुपैयाँ खर्च हुन बाँकी रहेको छ। भुक्तानी भएको रकममध्ये आन्तरिक ऋणतर्फ ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ खर्च भएको छ। यसमा ६५ अर्ब १० करोड ५० लाख रुपैयाँ साँवा र १७ अर्ब ६३ करोड ३० लाख रुपैयाँ ब्याज भुक्तानी गरिएको छ । त्यस्तै, बाह्य ऋणतर्फ १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ भुक्तानी भएको छ।
यसमध्ये १२ अर्ब ६४ करोड २८ लाख रुपैयाँ साँवा र ३ अर्ब ४९ करोड २७ लाख रुपैयाँ ब्याज भुक्तानीमा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । असोज मसान्तसम्म सरकारले कुल ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ ऋणको साँवा भुक्तानी गरेको छ। त्यस्तै, ब्याज भुक्तानीमा २१ अर्ब १२ करोड ५७ लाख रुपैयाँ खर्च भएको छ । साँवा तथा ब्याज भुक्तानीको कुल रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको १.५० प्रतिशत बराबर रहेको छ। यसमध्ये साँवा भुक्तानी कुल गार्हस्थ्य उत्पादनको १.१८ प्रतिशत र ब्याज भुक्तानी ०.३२ प्रतिशत रहेको छ । आन्तरिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा कुल ८२ अर्ब ७३ करोड ८० लाख रुपैयाँ खर्च हुँदा बाह्य ऋणको भुक्तानीमा १६ अर्ब १३ करोड ५५ लाख रुपैयाँ खर्च भएको छ।
आन्तरिक ऋणको भुक्तानीमा बाह्य ऋणको तुलनामा धेरै रकम खर्च भएको तथ्यांकले देखाउँछ । प्रतिवेदनको मासिक विवरणअनुसार साउनमा २३ अर्ब ८४ करोड २७ लाख रुपैयाँ ऋण प्राप्त भएको थियो। भदौमा ३८ अर्ब १० करोड ५१ लाख रुपैयाँ र असोजमा ६१ अर्ब ३७ करोड ८० लाख रुपैयाँ ऋण प्राप्त भएको छ । तीन महिनामा प्राप्त भएको कुल एक खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँमध्ये आन्तरिक ऋणबाट एक खर्ब रुपैयाँ र बाह्य ऋणबाट २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ प्राप्त भएको हो । ऋण भुक्तानीतर्फ भने साउनमा २५ अर्ब रुपैयाँभन्दा बढी, भदौमा ६० अर्बभन्दा बढी र असोजमा १३ अर्ब ८६ करोड २९ लाख रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
१९- नेपाली कांग्रेसले १५औँ महाधिवेशनबाट निर्वाचित २० जना पदाधिकारीको वरीयता निर्धारण गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको शपथपछि वरीयता सूची टुंगो लगाएको हो । निर्धारित वरीयताअनुसार सभापति गगन थापा पहिलो नम्बरमा रहेका छन् । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा दोस्रो र महिला उपसभापति पुष्पा भुसाल तेस्रो नम्बरमा छन् । त्यस्तै, उपसभापतिहरूमध्ये डा. चन्द्रकान्त भण्डारी चौथो, मधु आचार्य पाँचौँ र विनोद चौधरी छैटौँ नम्बरमा रहेका छन् । महामन्त्रीतर्फ प्रदीप पौडेल सातौँ, डा. डिला संग्रौला पन्त आठौँ र उदयशमशेर राणा नवौँ नम्बरमा छन् । पार्टीले निर्धारण गरेको सूचीअनुसार सहमहामन्त्रीहरूमा बहादुर सिंह लामा दसौँ, योगेन्द्र चौधरी एघारौँ, प्रकाश स्नेही रसाइली बाह्रौँ, जीवन शाही तेह्रौँ र अजय चौरसिया चौधौँ नम्बरमा रहेका छन् । त्यसैगरी, आङ्गेलु शेर्पा पन्ध्रौँ, रामहरि खतिवडा सोह्रौँ, प्रतिमा गौतम सत्रौँ, अजयबाबु सिवाकोटी अठारौँ, मनोजमणि आचार्य उन्नाइसौँ र डा. फिरदोस आलम बीसौँ नम्बरमा रहेका छन् । वरीयता सूचीमा सभापतिपछि वरिष्ठ उपसभापति, महिला उपसभापति, अन्य उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई क्रमशः स्थान दिइएको छ ।
२०- पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि अल नासरले साउदी प्रो लिगमा अल खोलुदलाई ५–३ गोलले पराजित गरेको छ । गएराति भएको खेलमा रोनाल्डोले दोस्रो हाफमा लगातार तीन गोल गर्दै टोलीको जित सुनिश्चित गरेका हुन् । यस ह्याट्रिकसँगै उनको व्यावसायिक फुटबल करियरमा गोल संख्या ९८५ पुगेको छ । खेलको सुरुवात भने अल नासरका लागि सहज रहेन । अल खोलुदका जुलियन डोमिन्गेजले १६औँ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर अल नासरका एन्जेलो गाब्रिएलले २४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि साडियो मानेले ३८औँ मिनेटमा गोल गर्दै अल नासरलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको अतिरिक्त समयमा एन्टोइन एसोम्बाले गोल गरेपछि दुवै टोली २–२ को बराबरीमा रहे । दोस्रो हाफमा भने रोनाल्डोले खेल आफ्नो नियन्त्रणमा लिए । उनले ६६औँ मिनेटमा जोआओ फेलिक्सको पासमा गोल गर्दै अल नासरलाई ३–२ को अग्रता दिलाए । त्यसको ६ मिनेटपछि नै फेलिक्सकै अर्को उत्कृष्ट पासमा हेडरमार्फत गोल गर्दै रोनाल्डोले टोलीको अग्रता ४–२ पुर्याए । ८१औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल पूरा गरे । साडियो मानेले उपलब्ध गराएको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए । यससँगै रोनाल्डोले खेलमा ह्याट्रिक पूरा गर्नुका साथै आफ्नो करियरको गोल संख्या ९८५ पुर्याए । उनी करियरमा एक हजार गोलको ऐतिहासिक उपलब्धि हासिल गर्न अब १५ गोल मात्र टाढा छन् । जितसँगै अल नासरले ११ खेलबाट २८ अंक जोडेको छ र लिगमा दोस्रो स्थानमा छ । त्यस्तै अल खोलुदको भने ११ खेलमा १२ अंक रहेको छ र लिगमा १०औं स्थानमा छ ।