काठमाडौं । ग्लोबल आइएमई बैंकले काठमाडौंको उत्तरढोकामा अत्याधुनिक केन्द्रीय कार्यालय भवन निर्माण सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले धनतेरसको अवसर पारेर प्रस्तावित भवनको शिलान्यास तथा जग पूजा गरे ।
करिब १ लाख ४५ हजार वर्गफिट ‘बिल्टअप’ क्षेत्रफलमा निर्माण हुन लागेको यो भवन आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भवनको संरचना निर्माणदेखि भित्री साजसज्जा (इन्टेरियर) लगायत सम्पूर्ण कार्यका लागि करिब ३ अर्ब रुपैयाँ खर्च हुने अनुमान बैंकले गरेको छ ।
शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यो भवन नेपालका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै क्षेत्रफल भएको र साधनसम्पन्न केन्द्रीय कार्यालयमध्ये एक हुने बताए । काठमाडौंको ‘प्राइम लोकेसन’ मा निर्माण हुन लागेको यो संरचना भविष्यमा एउटा ‘आइकनिक’ भवनका रूपमा स्थापित हुने विश्वास उनले व्यक्त गरे ।
ग्राहक, सेयरधनी, कर्मचारी तथा शुभेच्छुकहरूको निरन्तर साथ र सद्भावकै कारण बैंक यस स्थानमा आफ्नै अत्याधुनिक भवन बनाउने अवस्थामा आइपुगेको ढकालले बताए । आगामी दिनमा पनि नेपाल सरकार, नियमनकारी निकाय नेपाल राष्ट्र बैंक, आम नागरिक तथा सेवाग्राहीबाट यस्तै सहयोग प्राप्त भइरहने अपेक्षा उनले गरे ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मीले करिब ५९ लाख ग्राहकको माया र विश्वासका कारण ग्लोबल आइएमई बैंक देशकै ठूलो बैंकका रूपमा स्थापित हुन सकेको बताए । हाल बैंकका केन्द्रीय स्तरका विभिन्न विभागहरू अलग–अलग स्थानबाट सञ्चालन भइरहेकोमा नयाँ भवन निर्माणपछि सबै सेवा एउटै छानामुनिबाट उपलब्ध गराउन सकिने उनले जानकारी दिए ।

रेग्मीका अनुसार यो भवनलाई नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकका केन्द्रीय कार्यालयहरूभन्दा निकै आधुनिक र प्रविधिमैत्री बनाइनेछ । नयाँ भवनले बैंकका विभागहरूको कार्यसम्पादनलाई थप व्यवस्थित, छिटो–छरितो र प्रभावकारी बनाउन ठूलो सहयोग पुर्याउने बैंकको विश्वास छ ।

बैंकले ग्राहकको विश्वासलाई सफलताको मुख्य आधार मान्दै आगामी दिनमा भौतिक पूर्वाधारसँगै प्रविधिमैत्री र गुणस्तरीय बैंकिङ सेवा विस्तारलाई निरन्तरता दिने जनाएको छ ।
