काठमाडौं । तिहारको सबैभन्दा बढी विद्युत् खपत हुने दिन लक्ष्मीपूजामा मागभन्दा उत्पादन नै बढी हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरणले यस वर्ष लक्ष्मीपूजाको साँझ विद्युत्को अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरेको छ।
तर सोही समयमा विद्युत् उत्पादन भने करिब २ हजार ५०० मेगावाट हुने प्रक्षेपण छ।
अनुमानित मागभन्दा उत्पादन करिब ८०० मेगावाट बढी हुने देखिएपछि प्राधिकरणले तिहार र छठमा विद्युत् आपूर्ति सहज रहने जनाएको छ। आन्तरिक उत्पादनबाटै पर्वको माग धान्न सकिने प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठको भनाइ छ।
विद्युत् खपत बढ्ने पर्वलाई लक्षित गर्दै प्राधिकरणले उत्पादन गृहदेखि उपभोक्ताको घरसम्मको आपूर्ति प्रणालीलाई तयारी अवस्थामा राखेको छ। सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न कर्मचारीलाई चौबीसै घण्टा परिचालन गर्न सकिने व्यवस्था मिलाइएको छ।

प्राधिकरणले विद्युत् आपूर्ति व्यवस्थापनका लागि केन्द्रीय तथा प्रादेशिक कार्यालयबीच समन्वयसमेत बढाएको छ।

कार्यकारी निर्देशक श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापन टोलीको बैठकले पर्व अवधिमा प्रणाली सञ्चालन र सम्भावित जोखिम व्यवस्थापनका विषयमा समीक्षा गरेको थियो।

त्यसपछि प्रणाली सञ्चालन विभाग, प्रसारण सञ्जाल सञ्चालन विभाग र वितरण तथा ग्राहक सेवा निर्देशनालयअन्तर्गतका कार्यालय प्रमुखसँग संयुक्त भर्चुअल छलफल गरिएको थियो। विद्युत् मागको अवस्था, आपूर्ति प्रणालीको निगरानी र आवश्यक जनशक्ति परिचालनलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ।

पर्वका बेला कुनै स्थानमा विद्युत् अवरुद्ध भए तत्काल मर्मत गरेर सेवा सञ्चालन गर्न कार्यकारी निर्देशक श्रेष्ठले निर्देशन दिएका छन्। प्रसारण लाइन र वितरण प्रणालीमा देखिएका समस्या तथा बाँकी रहेका मर्मतका काम पनि तत्काल पूरा गर्न भनिएको छ।
प्राधिकरणले उपभोक्ताका गुनासो सम्बोधनलाई पनि प्राथमिकतामा राखेको छ। विद्युत् सेवा अवरुद्ध भएको जानकारी लिन सञ्चालन गरिने ‘बत्ती गएको’ सेवामा आउने फोन नियमित उठाउन र प्राप्त गुनासोको छिटो समाधान गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ।
विद्युत् माग र उत्पादन पर्याप्त भए पनि प्रणालीमा प्राविधिक समस्या आउन सक्ने भएकाले पर्वभरि निरन्तर निगरानी गरिनेछ। केन्द्रीय प्रणाली सञ्चालन विभाग, प्रसारण सञ्जाल सञ्चालन विभाग र वितरण केन्द्रबीच समन्वय गरेर समस्या पहिचान तथा समाधान गरिने प्राधिकरणको तयारी छ।
यसैबीच, तिहारमा घर तथा सडकमा झिलिमिली बत्ती बाल्दा विद्युतीय सुरक्षामा ध्यान दिन प्राधिकरणले आग्रह गरेको छ। घरमा प्रयोग भइरहेका तार, बत्ती र अन्य विद्युतीय उपकरणको अवस्था जाँच गर्न सुझाव दिइएको छ। कमसल सामग्री प्रयोग नगर्न र तारमा खराबी देखिए आफैँ मर्मत नगर्न प्राधिकरणले सचेत गराएको छ।
विद्युत् चुहावट वा तारमा समस्या देखिए दक्ष प्राविधिकबाट मात्र मर्मत गराउनुपर्ने प्राधिकरणको आग्रह छ। आपूर्तिमा समस्या आए नजिकको वितरण केन्द्र वा सम्बन्धित गुनासो सेवा केन्द्रमा सम्पर्क गर्न पनि उपभोक्तालाई अनुरोध गरिएको छ।