नेपालको अटोमोबाइल क्षेत्रलाई केवल गाडी आयात, बिक्री र कर संकलनको दृष्टिकोणबाट मात्र हेरेर पुग्दैन । यो क्षेत्र रोजगारी, प्रविधि, दक्ष जनशक्ति, ऊर्जा सुरक्षा र देशको औद्योगिक आत्मनिर्भरतासँग पनि जोडिएको छ । पछिल्ला पाँच वर्षमा नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को स्वीकार्यता तीव्र रूपमा बढेको छ ।
यसले नेपाललाई ईभी एडप्सनको क्षेत्रमा उल्लेखनीय स्थान दिलाएको छ । तर सवारीसाधनको बिक्री बढ्नु र त्यसलाई समर्थन गर्ने सम्पूर्ण इकोसिस्टम विकसित हुनु फरक कुरा हुन् । चार्जिङ पूर्वाधार, बिक्रीपछिको सेवा, ब्याट्रीको दीर्घकालीन अवस्था, प्राविधिक जनशक्ति र ग्राहकले दैनिक प्रयोगमा भोग्ने समस्यालाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।
भविष्यमा एउटा मात्र पावरट्रेनमा अत्यधिक निर्भर हुनु जोखिमपूर्ण हुन सक्छ । बीईभी, एचईभी, पीएचईभी, आरईईभी र आईसीईका आ–आफ्नै उपयोगिता र सीमितता छन् । सहरमा चल्ने ग्राहकका लागि ईभी उपयुक्त हुन सक्छ भने लामो दूरी, दुर्गम क्षेत्र वा चार्जिङको सीमित पहुँच भएका ग्राहकका लागि अन्य विकल्प बढी व्यावहारिक हुन सक्छन् । त्यसैले भविष्यको बजारको सही पूर्वानुमान गर्नु र विभिन्न पावरट्रेनका लागि तयार रहनु आवश्यक छ । कुनै एउटा प्रविधिलाई सबै समस्याको समाधान मान्नुको सट्टा ग्राहकको आवश्यकता, लागत, पूर्वाधार र प्रयोगको अवस्थाअनुसार विकल्प उपलब्ध गराउनु नै व्यावहारिक दृष्टिकोण हो ।
यही सोचका साथ लक्ष्मी ग्रुपले आफ्नो अटोमोबाइल व्यवसायलाई विभिन्न ब्रान्ड, मूल्य वर्ग र पावरट्रेनमा विविधीकरण गरेको छ । हुन्डाईको विश्वसनीयतादेखि बीएमडब्ल्यूको लक्जरी सेग्मेन्टसम्म, एमजीका विद्युतीय सवारी, किया का प्रवेशस्तरका विकल्प र रेनोका एसयूभी तथा विद्युतीकृत विकल्पहरूसम्म हाम्रो उद्देश्य फरक–फरक ग्राहकको आवश्यकता सम्बोधन गर्नु हो । तर नयाँ प्रविधि ल्याउनु मात्र पर्याप्त हुँदैन । त्यसलाई सुरक्षित र विश्वसनीय रूपमा सञ्चालन तथा मर्मत गर्न सक्ने दक्ष जनशक्ति, आधुनिक सेवा प्रणाली र प्राविधिक क्षमता पनि आवश्यक हुन्छ। त्यसैले म्यानपावर डेभलपमेन्ट हाम्रो दीर्घकालीन सोचको महत्त्वपूर्ण आधार हो ।
हाम्रो सबैभन्दा महत्त्वपूर्ण प्रयासमध्ये एक नेपालमै चारपाङ्ग्रे सवारीसाधन एसेम्ब्ली गर्ने परियोजना हो । पूर्ण रूपमा तयार गाडी आयात गरेर बिक्री गर्नु तुलनात्मक रूपमा सरल विकल्प हुन सक्थ्यो । तर हामीले देशभित्र औद्योगिक क्षमता, रोजगारी, प्राविधिक सीप र स्थानीय मूल्य अभिवृद्धिको सम्भावना देखेर ठूलो लगानी र जोखिम लिने बाटो रोज्यौँ ।

एउटा स्वाभाविक प्रश्न उठ्छ—यदि चारपाङ्ग्रे सवारीसाधन एसेम्ब्ली गर्नु यति सहज र अत्यधिक नाफामूलक व्यवसाय मात्र हुन्थ्यो भने, तीन वर्ष बितिसक्दा अरू लगानीकर्ता किन यो क्षेत्रमा पर्याप्त रूपमा अगाडि आएनन् ?

यो बुझ्न कुनै उच्च आईक्यू चाहिँदैन । सामान्य व्यावसायिक तर्क र लगानीको जोखिम बुझ्ने क्षमताले नै धेरै कुरा स्पष्ट पार्छ । ठूलो पुँजी, सञ्चालन खर्च, उत्पादन लागत, बजारको आकार र नीतिगत अनिश्चितताबीच उद्योग सञ्चालन गर्नु र विदेशबाट तयार गाडी आयात गरेर बिक्री गर्नु एउटै कुरा होइन ।

हामीले पनि सजिलो विकल्प रोजेर आयात र बिक्रीमै सीमित रहन सक्थ्यौँ । तर नेपालमा केही निर्माण गर्न सकिन्छ भन्ने विश्वासका साथ अटोमोबाइल क्षेत्रलाई अर्को तहमा लैजाने प्रयास गरेका हौँ ।
यद्यपि एसेम्ब्लीलाई पूर्ण आत्मनिर्भरता हासिल गरिसकेको प्रमाणका रूपमा होइन, त्यसतर्फको एउटा महत्त्वपूर्ण कदमका रूपमा हेर्नुपर्छ । आजको प्रयासले भोलि स्थानीय पार्टपुर्जा, थप रोजगारी र प्राविधिक क्षमताको विकासमा योगदान दिन सक्छ ।

कहिलेकाहीँ केही सञ्चारमाध्यम वा टिप्पणीमा परियोजनाको वास्तविकता नबुझी नकारात्मक निष्कर्ष प्रस्तुत गरिएको अनुभूति हुन्छ । गलत वा अपूर्ण जानकारीले एउटा कम्पनीलाई मात्र होइन, नेपालमै लगानी गर्न चाहने अन्य सम्भावित लगानीकर्तालाई पनि निरुत्साहित गर्न सक्छ ।
हामी प्रशंसाभन्दा बढी निष्पक्ष मूल्याङ्कन चाहन्छौँ। कमजोरी छन् भने देखाइयोस्, प्रश्न छन् भने प्रमाणका आधारमा छलफल होस् । तर देशभित्र केही निर्माण गर्ने प्रयासलाई पनि त्यसले सिर्जना गर्न सक्ने दीर्घकालीन सम्भावनाका आधारमा हेरिनुपर्छ ।
सरकारले पनि वास्तविक औद्योगिक लगानी, स्थानीय मूल्य अभिवृद्धि र रोजगारीलाई प्रोत्साहन गर्ने स्पष्ट तथा स्थिर नीति बनाउन आवश्यक छ। निजी क्षेत्रले जोखिम लिने तर नीतिगत अनिश्चितता र नकारात्मक धारणाको भार मात्र बोकिरहने अवस्था दीर्घकालीन औद्योगिकीकरणका लागि उपयुक्त हुँदैन ।
हाम्रो उद्देश्य केवल आज धेरै गाडी बेच्नु होइन । नेपालको अटोमोबाइल क्षेत्रले भविष्यमा पनि प्रतिस्पर्धा गर्न सक्ने आधार निर्माण गर्नु हो । त्यसका लागि विभिन्न पावरट्रेन, दक्ष जनशक्ति, विश्वसनीय सेवा र स्वदेशी औद्योगिक क्षमताको विकास आवश्यक छ ।
नेपालमा केही निर्माण गर्ने सम्भावना देखेर लगानी गर्ने निर्णय गर्यौँ। यसमा चुनौती छन्, जोखिम छन् र सफलताका लागि अझै धेरै काम गर्न बाँकी छ । हामी आफ्नो जिम्मेवारीअनुसार काम गरिरहनेछौँ । हाम्रो प्रयासको अन्तिम मूल्याङ्कन समय, तथ्य र परिणामले गर्नेछन् । आज निर्माण गर्न खोजिएको आधारको वास्तविक महत्त्व आगामी पुस्ताले अझ स्पष्ट रूपमा बुझ्न सकोस —हाम्रो अपेक्षा यही हो ।