काठमाडौं । अमेरिकाले २६ वर्षपछि दादुरा उन्मूलन भएको देशको मान्यता गुमाएको छ । सन् २००० देखि दादुराको निरन्तर संक्रमण रोक्न सफल रहेको अमेरिकामा पछिल्लो समय खोप लगाउनेको संख्या घट्दै गएपछि संक्रमण पुनः फैलिएको हो ।
पान अमेरिकी स्वास्थ्य संगठनअन्तर्गतको विज्ञ समितिले अमेरिकामा एउटै प्रकारको दादुरा भाइरस एक वर्षभन्दा बढी समयसम्म निरन्तर फैलिएको निष्कर्ष निकाल्दै उन्मूलनको मान्यता हटाउने निर्णय गरेको हो ।
अमेरिकामा सन् २०२५ र २०२६ मा दादुराको संक्रमण तीव्र रूपमा बढेको छ । यस वर्ष मात्रै ५ हजार ४०० भन्दा बढी संक्रमित भेटिएका छन् । सन् १९९१ पछिको यो सबैभन्दा उच्च सङ्ख्या हो। संक्रमणका कारण कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब नौमध्ये एक संक्रमित अस्पताल भर्ना हुनुपरेको छ ।
युटा, साउथ क्यारोलाइना, पेन्सिलभेनिया, विस्कन्सिन र न्यूयोर्कलगायत राज्यमा संक्रमण फैलिएको छ । विशेषगरी खोप नलगाएका व्यक्तिहरू संक्रमणको उच्च जोखिममा रहेका छन् ।
स्वास्थ्य विज्ञहरूका अनुसार दादुराविरुद्धको एमएमआर खोपका दुई मात्रा लगाएमा संक्रमण हुने जोखिम ९७ प्रतिशतसम्म कम हुन्छ । तर पछिल्ला वर्षमा खोपप्रतिको विश्वास घट्नु र खोप लगाउने दरमा आएको कमीले संक्रमण फैलिन सहज भएको छ ।

दादुरा अत्यन्त संक्रामक रोग हो। एक संक्रमित व्यक्तिबाट औसतमा १२ देखि १८ जनासम्ममा संक्रमण फैलिन सक्छ। यसले ज्वरो र शरीरमा बिमिरा आउने समस्या मात्र नभई रोग प्रतिरोधात्मक क्षमतामा समेत असर पुर्याउन सक्छ । निमोनिया, झाडापखाला र मस्तिष्कसम्बन्धी गम्भीर समस्या पनि निम्तिन सक्छ ।

स्वास्थ्य विज्ञहरूले खोप नलगाएका बालबालिका, कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्ति र गर्भवती महिलालाई संक्रमणको बढी जोखिम रहेको बताएका छन् ।

अमेरिकाले पुनः दादुरा उन्मूलनको मान्यता प्राप्त गर्न खोप अभियानलाई प्रभावकारी बनाउनुपर्ने विज्ञहरूको सुझाव छ । तर खोपप्रतिको घट्दो विश्वास र विद्यालयमा खोप नलगाउने छुट बढ्दै गएकाले यो लक्ष्य हासिल गर्न चुनौतीपूर्ण हुने उनीहरूको भनाइ छ ।
