सुक्खा पहिरोले कालीगण्डकी करिडोर पुन:अवरुद्ध
कर्पोरट खबर
8:51 pm, आइतबार, कात्तिक २९, २०८३
- गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से खण्डमा सुक्खा पहिरो खस्दा कालीगण्डकी करिडोर सडक आज बेलुकादेखि पूर्ण रूपमा अवरुद्ध बनेको छ।
- पहिरो हटाउन आज राति सम्भव नभएकाले भोलि बिहान अवस्था हेरेर मात्र डोजर परिचालन गरिने प्रहरीले जनाएको छ।
गुल्मी । सुक्खा पहिरो गएपछि कालीगण्डकी करिडोर सडक पुन:अवरुद्ध बनेको छ । उक्त सडकअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्से खण्डमा सडक माथिबाट सुक्खा पहिरो खसेपछि आज बेलुकादेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको हो ।
सडक सञ्चालन भएको तीन दिनपछि पुन: माथिबाट चट्टानसहितको सुक्खा पहिरो खसिरहेकाले आज बेलुकीदेखि आवागमन अवरुद्ध बनेको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेदबहादुर थापाले जानकारी दिए । अहिले सडक माथिबाट परिहो झरिरहेका कारण थप जोखिम हुनसक्ने भन्दै भोलि बिहान पहिरोको अवस्था हेरेर मात्र सडक सञ्चालनका लागि डोजर परिचालन गरिने उनले बताए ।
सडक माथिबाट चट्टानसहितको सुक्खा पहिरो झरिरहेकाले आज राति पहिरो हटाउन सम्भव नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।