काठमाडौं । वीरगन्जस्थित नेशनल मेडिकल कलेजका आन्दोलनरत रेजिडेन्ट डाक्टरहरू अध्ययन तथा काममा फर्किन सहमत भएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयको समन्वयमा सिंहदरबारमा कलेज व्यवस्थापन र विद्यार्थी प्रतिनिधिबीच भएको छलफलपछि सहमति जुटेको हो ।
सहमतिअनुसार अध्ययनलाई निरन्तरता दिन चाहने विद्यार्थीका लागि आवश्यक शैक्षिक वातावरण सुनिश्चित गरिनेछ भने अन्यत्र जान चाहने विद्यार्थीलाई नियमानुसार रेजिडेन्टबापतको रकम फिर्ता गरिनेछ ।
कलेज व्यवस्थापनले शैक्षिक वातावरण सुधार गर्ने प्रतिबद्धता जनाएको छ। सहमति कार्यान्वयन भए–नभएको विषयमा मन्त्रालय, चिकित्सा शिक्षा आयोग र चिकित्सा शास्त्र अध्ययन संस्थानले चरणबद्ध अनुगमन गर्ने जनाइएको छ ।
यसअघि कलेज व्यवस्थापनबाट मानसिक दबाब र दुर्व्यवहार भएको तथा अध्ययनका लागि उचित वातावरण नभएको भन्दै पहिलो वर्षका रेजिडेन्ट डाक्टरहरू आन्दोलनमा उत्रिएका थिए ।
