काठमाडौं । ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीले २ पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ जनालाई वैदेशिक रोजगारीका नाममा ठगी गरेको, गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्य गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ ।
उनीहरु मंसिर २ गते काठमाडौं, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ परेको सीआईबीका प्रवक्ता अनुपशमशेर जबराले बताए ।
पक्राउ पर्नेमा पूर्व श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन् । त्यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुख (सहसचिव) उमेश ढुंगाना, राजीव पोखरेल र मन्त्रालयकी तत्कालीन कानुन अधिकृत (उपसचिव) निर्मला गुरुङ रहेका छन् ।
सीआईबीका अनुसार विकास रनाभाटसमेतको जाहेरीका आधारमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको हो ।

नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारी (एमओयू) विपरीत गैरकानुनी रूपमा ठगी गरी रकम संकलन गरिएको प्रहरीको भनाइ छ ।

संकलित रकममध्ये अमेरिकी डलर र बेलायती पाउन्ड गरी ठूलो परिमाणको रकम मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको पाइएको छ ।
