काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको कुल २१ प्रतिशत लाभांश अनुमोदन गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार प्रस्तावित लाभांशमा ६ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले आगामी २०८३ पुस २ गते बिहीबार साधारण सभा आयोजना गर्ने भएको हो। कम्पनीका अनुसार सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग क्याटरिङमा बिहान १० बजेदेखि सुरु हुनेछ।
कम्पनीको हाल कायम चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँको आधारमा प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत बोनस शेयरबापत ३१ करोड ३४ लाख ५६ हजार ५०० रुपैयाँ र १५ प्रतिशत नगद लाभांशबापत ७८ करोड ३६ लाख ४१ हजार २५० रुपैयाँ वितरण हुनेछ। यसअनुसार कम्पनीले कुल १ अर्ब ९ करोड ९० लाख ९७ हजार ७५० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यद्यपि, उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछि मात्र वितरण प्रक्रिया अघि बढ्नेछ।
साधारण सभामा वार्षिक तथा वित्तीय प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने र प्रस्तावित लाभांश अनुमोदन गर्ने लगायतका विषयमा निर्णय हुनेछ।
त्यसैगरी कम्पनीको अधिकृत पुँजी वृद्धि, बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पुँजी समायोजन, सञ्चालक समितिमा पाँच जना सञ्चालक कायम गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विषय पनि सभाका एजेन्डामा समावेश छन्।
