काठमाडौं । राणाकालदेखि चर्चामा रहेको नेपाल–भारत रेल कनेक्टिभिटीको विषयले करिब एक शताब्दीपछि फेरि गति लिने संकेत देखिएको छ ।
प्रधानमन्त्री बालेन शाहको भारतको दुईदिने भ्रमणका क्रममा नेपाल र भारतबीच रेल सञ्जाल विस्तारका तीन महत्त्वपूर्ण योजनालाई अघि बढाउने सहमति भएको छ । यससँगै अयोध्या–जनकपुर रेल सेवा सञ्चालनमा आएको छ भने रक्सौल–काठमाडौँ रेलमार्गको अन्तिम स्थान सर्वेक्षणलाई औपचारिक रूपमा टुङ्ग्याइएको छ ।
नोभेम्बर २२ र २३ मा भएको भ्रमणका क्रममा दुई देशले पूर्व–पश्चिम रेल सञ्जाल विस्तार तथा निर्माणाधीन सीमापार रेलमार्गका बाँकी कामलाई तीव्रता दिने प्रतिबद्धता पनि जनाएका छन् । भारत भ्रमण पूरा गरी प्रधानमन्त्री साह स्वदेश फर्किसकेका छन् भने उद्घाटन गरिएको अयोध्या–जनकपुर रेल मंगलबार जनकपुरधाम आइपुगेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको द्विपक्षीय वार्तापछि जारी संयुक्त वक्तव्यमा रेल कनेक्टिभिटीलाई व्यापार, पर्यटन र आर्थिक सहकार्य विस्तारको महत्त्वपूर्ण माध्यमका रूपमा अघि सारिएको छ । सहमति कार्यान्वयन भए नेपालको ढुवानी लागत घटाउने, धार्मिक पर्यटन प्रवर्द्धन गर्ने र भारतीय रेल सञ्जालमार्फत अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने अवसर सिर्जना हुन सक्नेछ ।
अयोध्या–जनकपुर रेल सेवा सञ्चालन

नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई यातायातमार्फत थप जोड्ने उद्देश्यसहित अयोध्या–जनकपुर रेल सेवा सुरु भएको छ । दुवै देशका प्रधानमन्त्रीले सोमबार भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ मंगलबार बिहान जनकपुरधाम पुगेको हो ।

अयोध्याबाट सोमबार दिउँसो १२:३० बजे प्रस्थान गरेको रेल मंगलबार बिहान ९:४० बजे जनकपुरधाम रेल्वे स्टेसनमा आइपुगेको थियो । रेलको स्वागतमा जनकपुरमा सांस्कृतिक कार्यक्रम तथा परम्परागत झाँकी प्रदर्शन गरिएको थियो ।

करिब ६०४ किलोमिटर दूरी पार गर्ने रेल भारतको उत्तर प्रदेश र बिहार हुँदै नेपाल प्रवेश गर्छ । मन्कापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, शिशो, मधुबनी र जयनगरलगायतका स्टेसनमा रोकिने यो रेल सातामा एकपटक सञ्चालन हुनेछ ।

१७ वटा डिब्बा रहेको रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरका सुविधा उपलब्ध छन् ।
भगवान् रामको जन्मभूमि अयोध्या र माता सीताको जन्मभूमि जनकपुरधामलाई सिधै जोड्ने यो सेवाले धार्मिक पर्यटकको आवागमन बढाउने अपेक्षा गरिएको छ । विशेषगरी रामायण सर्किट अन्तर्गत भारत तथा अन्य मुलुकबाट आउने पर्यटकको संख्या बढ्दा जनकपुरधामसहित मधेश प्रदेशको पर्यटन, होटल, यातायात र स्थानीय व्यापारले लाभ लिन सक्नेछन् ।
यसैगरी, नेपाल र भारतले बुद्ध तथा शिव–शक्ति धार्मिक पर्यटन सर्किटलाई पनि यातायात सञ्जालसँग जोड्ने सम्भावना खोज्ने सहमति गरेका छन् ।
राणाकालदेखि चर्चामा, रक्सौल–काठमाडौँ रेलमार्ग अझै निर्माणको प्रतीक्षामा
रक्सौल–काठमाडौँ रेलमार्गको अवधारणा नयाँ भने होइन। राणाकालमै रक्सौल–अमलेखगन्ज रेल सेवा सञ्चालनमा आएको इतिहास छ । त्यसपछि पनि रक्सौलबाट काठमाडौँसम्म रेल पुर्याउने विषय विभिन्न समयमा चर्चामा आए पनि ठोस निर्माण प्रक्रिया अघि बढ्न सकेको थिएन ।
यस योजनाले औपचारिक गति भने २०७४ चैत ९ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि पाएको थियो । त्यसपछि २०७५ भदौमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षण गर्ने समझदारी भएको थियो ।
भारतीय पक्षले सन् २०१९ मा प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाएपछि सन् २०२१ मा अन्तिम स्थान सर्वेक्षण (एफएलएस) गर्ने सम्झौता भएको थियो । सन् २०२२ फेब्रुअरीबाट स्थलगत अध्ययन सुरु भएको र सन् २०२३ जुलाईमा प्रतिवेदन नेपाल सरकारलाई बुझाइएको थियो । लामो समयदेखि प्रक्रियामा रहेको यही सर्वेक्षणलाई प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा औपचारिक रूपमा अन्तिम रूप दिने संयुक्त घोषणा गरिएको हो ।
कोङ्कण रेलवे कर्पोरेसनले गरेको अध्ययनअनुसार प्रस्तावित रेलमार्ग करिब १३६ देखि १४०.७९ किलोमिटर लामो हुनेछ । पर्सा, बारा, मकवानपुर, ललितपुर हुँदै काठमाडौँ उपत्यकाको चोभार र खोकना क्षेत्रमा पुग्ने गरी यसको मार्ग प्रस्ताव गरिएको छ ।
पूर्व–पश्चिम रेल सञ्जाल विस्तारमा सहकार्य
नेपाल र भारतबीच भएको तेस्रो सहमतिअनुसार पूर्व–पश्चिम रेल सञ्जाल विस्तारलाई पनि प्राथमिकता दिइने भएको छ । दुवै देशको रेल प्रणालीमा सहज रूपमा सञ्चालन गर्न मिल्ने अन्तरसञ्चालनयोग्य रेलमार्ग निर्माण गर्ने लक्ष्यसहित बर्दिबास–निजगढ र वीरगन्ज–निजगढ खण्डलाई अघि बढाउने सहमति भएको छ ।
त्यसैगरी, जयनगर–बर्दिबास र जोगबनी–विराटनगर रेलमार्गका निर्माणाधीन अन्तिम खण्डहरू शीघ्र सम्पन्न गर्ने प्रतिबद्धता पनि जनाइएको छ । हाल जयनगर–जनकपुर रेल सेवा सञ्चालनमा छ। बिजुलपुरा–बर्दिबास खण्ड भारतले निर्माण गरिरहेको छ भने बर्दिबास–निजगढको करिब ७० किलोमिटर रेलमार्ग नेपाल सरकारले निर्माण गरिरहेको छ ।
यी खण्डहरू पूरा भए जनकपुर, बर्दिबास, निजगढ र वीरगन्ज हुँदै रक्सौलसम्म रेल सञ्जाल विस्तार गर्न सकिनेछ । यसले पूर्वी नेपालको औद्योगिक क्षेत्र र मधेश प्रदेशका कृषि तथा व्यापारिक उत्पादनलाई भारतीय बजारसम्म पुर्याउन सहज बनाउने अपेक्षा गरिएको छ । नेपाल–भारतबीच भएका पछिल्ला सहमतिले रेलमार्ग विस्तारको सम्भावना बढाए पनि तिनलाई व्यवहारमा उतार्न नेपालले स्पष्ट लगानी योजना, प्राविधिक तयारी र समयबद्ध कार्ययोजना बनाउनुपर्ने देखिन्छ ।