नेपाल–अमेरिका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको अध्यक्षमा किरणप्रकाश शाख:पुनः निर्वाचित भएका छन्।
शुक्रबार राजधानीमा भएको चेम्बरको २५औँ वार्षिक साधारणसभाले शाख:लाई अध्यक्षमा पुन: चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा सञ्जय शराफ (अग्रवाल), प्रनिल मान सिंह प्रधान, पशुपति देव पाण्डे, राकेश अडुकिया, बलराम गुरुङ, कृष्ण विक्रम शाह, अविनाश वीर सिंह तुलाधर र चाँदनी लामा सदस्य रहेका छन्। चेम्बरका निवर्तमान अध्यक्षमा सुनिल शाक्य रहेका छन् ।
नेपाल–अमेरिका व्यापार विस्तारमा जोड
साधारणसभा नेपाल र अमेरिकाबीचको व्यापार तथा आर्थिक सम्बन्ध विस्तारका लागि नेपाली उत्पादनको अमेरिकी बजारमा पहुँच सहज बनाउनुपर्नेमा जोड दिइयो ।

अध्यक्ष किरण प्रकाश साख:ले नेपालका निर्यातकर्ताले भोगिरहेका नीतिगत तथा व्यापारिक चुनौती सम्बोधन गर्न दुवै देशका सरकारबीच थप सहकार्य आवश्यक रहेको बताए ।

नेपाल र अमेरिकाबीच सन् १९४७ देखि कूटनीतिक सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले दुई देशबीचको मित्रतालाई आर्थिक तथा व्यावसायिक साझेदारीमा रूपान्तरण गर्न अझै ठूलो सम्भावना रहेको उनको भनाइ छ।

निर्यात व्यापारका हिसाबले भारतपछि अमेरिका नेपालको दोस्रो ठूलो बजार हो ।

नेपाली गलैँचा, तयारी पोसाक, हस्तकला, पश्मिना, ऊनी फेल्टका सामग्री र हिमालयन डग च्युजलगायत उत्पादनले अमेरिकी बजारमा उपस्थिति बनाइसकेका छन्। तर, विगतमा मल्टिफाइबर एग्रिमेन्ट लागू रहेको समयको तुलनामा अमेरिकासँग नेपालको व्यापार घटेको अध्यक्ष साखले बताए।
अध्यक्ष साखका अनुसार अमेरिकाले सन् २०२५ अप्रिलदेखि नेपालबाट आयात हुने अधिकांश वस्तुमा १० प्रतिशत आधारभूत भन्सार महसुल लागू गरेपछि नेपाली निर्यातकर्ताले थप चुनौती सामना गर्नुपरेको छ।
यसअघि नेपाल ट्रेड प्रिफरेन्स प्रोग्राम (एनटीपीपी) अन्तर्गत शून्य भन्सार सुविधामा अमेरिकी बजार प्रवेश पाएका उत्पादनसमेत त्यसबाट प्रभावित भएका छन्।
सन् २०१५ को भूकम्पपछि नेपाली निर्यातकर्तालाई सहयोग पुर्याउने उद्देश्यले सुरु गरिएको एनटीपीपीको निरन्तरता अहिले झनै आवश्यक रहेको अध्यक्षको भनाइ थियो।
भोटेकोशीमा आएको बाढी, नेपालको आर्थिक चुनौती र अति कम विकसित मुलुकको सूचीबाट स्तरोन्नति हुने अवस्थाले निर्यात क्षेत्रलाई थप चुनौतीपूर्ण बनाएको उनले बताए।
भोटेकोशी बाढीपछि अमेरिकी सरकारले तत्काल सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै उनले नेपालको पुनःस्थापना प्रयासमा अमेरिकी सहकार्यको प्रशंसा गरे।
नेपाल र अमेरिकाबीच सन् २०११ मा भएको व्यापार तथा लगानी संरचना सम्झौता (टिफा) को कार्यान्वयनलाई पनि उनले महत्वपूर्ण विषयका रूपमा उठाए।
सन् २०२४ सेप्टेम्बरमा सम्पन्न सातौँ टिफा काउन्सिल बैठकका कतिपय सहमति अझै कार्यान्वयन हुन नसकेको र त्यसपछिको बैठकसमेत नबसेको उल्लेख गर्दै उनले दुवै सरकारलाई यथाशीघ्र अर्को बैठक आयोजना गर्न आग्रह गरे।
बौद्धिक सम्पत्ति अधिकारको संरक्षणलाई समेत चेम्बरले प्राथमिकतामा राखेको उनले बताए।