काठमाडौं । यही मंसिर २१ गते सोमबार पशुपति क्षेत्रमा मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु भएको छ ।
पर्वको तयारी तथा व्यवस्थापनका सम्बन्धमा पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिहरूसँग सुरक्षा व्यवस्थापन बैठक सम्पन्न गरेको छ । कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न सुरक्षा बैठक गरी आवश्यक तयारी अघि बढाइएको जानकारी दिए ।
पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको उनले बताए । पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वयसमेत अघि बढाइएको कोषले जनाएको छ ।
मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ पशुपति क्षेत्रमा दिवंगत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ । भोलिपल्ट मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर बाला चतुर्दशी पर्व मनाइन्छ ।
मंसिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्नेको घुइँचो लाग्ने गर्छ । पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा अवस्थित शिवालयमा पनि मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्नेको भीड लाग्ने गर्छ ।
