काठमाडौँ, असोज १४ – लिभरपुलका मिडफिल्डर थियागो अल्कान्टारालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि सेल्फ आइसोलेसनमा रहेका छन् । २९ वर्षीय खेलाडी हालै मात्र जर्मन क्लब बायर्न म्युनिखबाट लिभरपुल आएका हुन् ।
चेल्सीविरुद्ध २–० को जीत निकाल्ने क्रममा डेब्यू गरेका थियागो लिनकनविरुद्ध ईएफएल कप र आर्सनलविरुद्धको खेलमा उपलब्ध थिएनन् ।
लिभरपुलका अनुसार थियागोमा भाइरसको हल्का लक्षणहरु देखिएको तर उनको स्वास्थ्य अवस्था राम्रो र सुधार उन्मुख रहेको छ । क्लबले कोभिड–१९ सम्बन्धि प्राटोकल अनुसार उनी केही समय आइसोलेशनमा रहनेछन् ।
सोमबार मात्र प्रिमियर लिगले पछिल्लो चरणको परीक्षणपछि १० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको थियो । सिजन सुरु भएका यता एकैपटक यति धेरै जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको यो पहिलो पटक हो ।
FACEBOOK COMMENTS