अन्जनराज न्यौपाने तनहुँ,
२० कार्तिक -चर्को भाडा लिने दर्जनौं सवारीसाधनहरु कार्वाहीमा परेका छन । तनहुँका प्रमुख जिल्ला अधिकारी सागर आचार्यको नेतृत्वमा पृथ्वी राजमार्ग अन्तर्गत पर्ने बन्दिपुरगाँउपालिका स्थित विमल नगरमा विहिबार गरिएको सवारी अनुगमन तथा निरीक्षणका क्रममा चर्को भाडा लिने सवारी साधनलाई कार्वाही गरिएको हो । त्यसो त अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले सवारीसाधनमा यात्रा गर्ने यात्रुहरुलाई अनिवार्य माक्स लगाउन आग्रह गर्न तथा बढी भाडा लिने सवारीसाधन र क्षमता भन्दा वडी यात्रुराखी सवार गर्ने गराउने सवारीसाधन चालकहरूलाई निरीक्षण तथा अनुगमन गरि आवश्यक कार्वाही गर्न जिल्ला प्रहरी कार्यालय तनहुँलाई निर्देशन दिएका छन।
प्रजिअ आचार्यले जिल्लाको शान्ति सुरक्षा र संवेदनशीलतालाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तनहुँ, पृथ्वी राजमार्ग वस संचालक समिति,ब्यास भुमि वस संचालक समिति र विभिन्न संचारमाध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागीतामा जिल्लाका महत्त्वपूर्ण बजारहरुमा अनुगमन र निरीक्षणलाई तिब्रता दिईनु स्वागत योग्य भएको बताउदै उनले सहभागी सबैलाई धन्यवाद दिए। प्रजिअ आचार्यले सवारी दुर्घटना न्युनिकरण गर्न ध्यान दिन र चर्को भाडा लिने सवारीसाधन उपर कार्वाही गर्न पनि निर्देशन दिए ।
यसैगरी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रमुख अरुण पौडेलले अनुगमनका क्रममा कोभिडको उच्च जोखिमलाई मध्यनजर राख्दै आम सर्वसाधारण र सवारीसाधन चालकहरुले अपनाउनु पर्ने कोरोना सम्बन्धी उच्च सतर्कताका लागि सचेतना जगाउनने उदेश्यका साथ सवारीसाधन चालक र यात्रुहरुमाथी निगरानी राख्न अनुगमन र निरीक्षण गरिएको बताए । प्रहरी प्रमुख पौडेलले सवारीसाधनहरुले मनोमानी ढंगबाट चर्को भाडा लिए नलिएको अनुगमन तथा निरीक्षण गरि जिल्लामा ब्याप्त कोरोना संक्रमणको उच्च जोखिममा उच्च सतर्कता अपनाउन सम्वद्ध सबै यात्रु र सवारीसाधन चालकहरूलाई अपिल गरेका थिए।
प्रहरी प्रमुख पौडेलले यात्रु र सवारीसाधन चालकहरुलाई माक्स लगाउन ,सुरक्षित रहन आग्रह गरेका थिए। प्रहरी प्रमुख पौडेलले यात्रुहरुलाई आग्रह गर्दै अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कन र निस्कनै परेको खण्डमा माक्स लगाउने, सेनिटाईजर प्रयोग गर्ने र सामाजिक दुरी कायमगरि सतर्क रहन आग्रह समेत गरेका थिए। हातजोड्दै यात्रुहरूलाई सेनिटाइजर लगाउनुहोस भनी फरासिलो तरिकाले अपिल गर्दा यात्रुहरु हर्षित हुँदै प्रहरी प्रमुख पौडेललाई केही यात्रुहरुले धन्यवाद व्यक्त गरेका थिए ।
यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशमरानाभाटले जिल्लाका व्यस्त बजारहरु आँबुखैरेनी, देवघाट डुम्रे, बन्दिपुर ,दमौली ,खैरेनीटार भिमाद जस्ता महत्वपूर्ण बजारहरुमा सार्वजनिक सवारीसाधनहरुमा अत्याधिक भिडभाड बढेसँगै कोरोना संक्रमण पनि बढ्ने सम्भावना बढेकाले उच्च सतर्कता अपनाउन पटकपटक माइकिङ समेत गरिएको बताए ।
चर्को भाडा लिने सवारी साधनलाई तुरुन्त कारबाही गरिने समेत उनले बताए। नियमित अनुगमन र निरीक्षण गर्ने, गराउने क्रमलाई निरन्तरता र तिब्रता दिन मासिक दुई पटक विभिन्न स्थानहरूमा अनुगमन गर्ने गरिएको रानाभाटले बताए ।
FACEBOOK COMMENTS