चण्डीराज ढकाल उद्योग वाणिज्य आन्दोलनका एक सशक्त योद्धा हुन । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष, विशिस्ठ सदस्य र सार्क चेम्बरका उपाध्यक्ष ढकाल महासंघको राजनीतिमा किङमेकर मानिन्छन् । महासंघ भित्र उनको छवि रियल लिडरको छ ।
अब्बल नेतृत्व र निर्णय क्षमता उनका सबल पक्ष हुन । यही नै गुणका कारण उनी विगत डेढ दशक देखी महासंघ भित्र छाउदै आएका छन् । महासंघ अध्यक्षको जिम्मेवारी सम्हाल्दाको मिती देखी हालसम्म पनि उनी हिडन सुप्रिमोका रुपमा लाईमलाईटमा छन् । संभवत उद्योगपति एवम् व्यवसायीका पिरमर्कालाई सुन्ने, बुझ्ने र समाधनार्थ आफ्नो बलबुताले भ्याएसम्म प्रयास गर्ने बानीका कारण उनको कदर हुँदै आएको छ । निजी क्षेत्रका साझा समस्यालाई हल गर्न उनी सधैं आतुर रहन्छन् । संगठनको सुदृढिकरणमा उस्तै मेहनत गर्ने उनको बानी छ ।
महासंघमा आउने नेतृत्वले आफ्नो निजी स्वार्थ भन्दा पनि संगठनको विकासमा ध्यान दिनुपर्ने उनले भनाई राख्दै आएका छन् । जसको तात्पर्य महासंघको अध्यक्ष नाफामुखी भन्दा पनि सेवामुखी सोच बोक्नुपर्छ, महासंघलाई समय दिनुपर्छ, निजी क्षेत्रको नेतृत्वले साघुँरो घेरामा नभई फराकिलो घेरा भित्र आफुलाई समेटनु पर्छ भन्ने हो । चुनाव जित्ने तर भोली पल्ट देखी आफ्नो प्रतिबद्धता बिर्सनेहरुका लागि आफु सधैं बिझाउने गरेको उनको अनुभव छ ।
हक्की स्वभावका उनमा निजी क्षेत्रका जिम्मेवार व्यक्तीले सरकार हाक्ने र सरकारी ओहोदामा बस्नेहरुसँग खरो रुपमा बौद्धिक, तार्किक र सान्दर्भिक ढंगले प्रस्तुत हुनुपर्छ भन्ने स्पस्ट धारणा उनको छ । यस मानेमा उनी महासंघका लागि मार्ग दर्शक पनि हुन । उनले बोक्ने एजेण्डाहरुले निजी क्षेत्रमा ठुलो अर्थ बोक्ने गर्दछ । उनी समुह वा वाद भन्दा पनि महासंघलाई भिजनले गाईड गर्नुपर्ने धारणा बोक्छन् । उनका तर्कशिल विचार सुनिसकेपछि जो कोही उनीसँग नतमस्तक हुने गर्दछन् । उनको कायमा जति दम देखिन्छ लवजमा पनि उस्तै जादुयी सामर्थ्य रहने गरेको छ ।’निजी क्षेत्रको विकास’ लाई नै आफ्नो मुलमन्त्र ठान्ने चण्डिराज ढकाल महासंघ संजाल भित्र लोकप्रिय नेता मानिन्छन् ।
म होईन हामी भनेर महासंघ बनाऔ भन्ने उनको बोलीको धेरैले प्रशंशा गर्ने गरेका छन् । यस अर्थ महासंघ भित्र चण्डीराज ढकाल एउटा बलियो नाम हो । एक शब्दमा भन्नु पर्दा ‘उम्दा’ । आजको मितीसम्म उनी महासंघका मियो नै हुन ।
साथी भाईलाई पर्दा अग्रिम मोर्चामा उभिने उनको बानी छ । खुलमखुला कुरा गर्न रुचाउने उनी स्पस्ट वक्ताका रुपमा पनि परिचित छन् । कुशल संगठकको रुपमा पनि उनलाई हेरिन्छ । उनको स्वभावका कारण महासंघका सदस्यहरु उनीसँग वशिभुत हुने गरेको पाईन्छ ।
पछिल्लो समय ढकालले समर्थन गरेको व्यक्ति नै अध्यक्ष बन्ने गरेको र बहुमत उम्मेदवारहरुले महासंघको चुनावमा बाजी मार्ने गरेकाले उनलाई महासंघका ‘कि प्लेयर’ मानिन्छ । महासंघ भित्रको उनको प्रभाव र प्रभुत्वले उम्मेदवारको हारजितमा ठुलो अर्थ राख्ने पक्का छ । विगतलाई फर्केर हेर्दा उनकै सहयोगमा जित हासिल गर्नेहरुमा प्रदिपजंग पाण्डे, पशुपति मुरारका, भवानी राणा र भावी अध्यक्ष शेखर गोल्छा समेत पर्दछन् । उनी ४० वर्षको उमेरमा नै नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष बन्न सफल भएका थिए । प्रत्येक जिल्लामा पुग्न सक्नु, व्यवसायिक समस्याहरुको लागि पहल गर्न सक्नु उनको सकारात्मक पक्ष हो । उनको पहुँच जिल्ला, नगर, एसोसियट, बस्तुगत सबैमा रहेकाले उनको समर्थन प्रतिद्वन्द्धी समुहका लागि भारी पर्ने देखिन्छ ।
FACEBOOK COMMENTS