काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलको ‘ट्राफिक’ अनुगमन गर्न ‘मनिटरिङ नेटवर्क अप्रेसन सेन्टर’(एम–नक) सञ्चालनमा ल्याउने भएको छ। ६ महिनाभित्र केन्द्रीय प्रणाली सञ्चालनमा ल्याएर सबै कलको अनुगमन गरिने प्राधिकरणले जानकारी दिएको छ।
दूरसञ्चार सेवा प्रदायक कम्पनीको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलमार्फत हुने आम्दानी, अवैध कल , कलको गुणस्तरलगायत विषयमा अनुगमन गर्न यो प्रणाली सञ्चालनमा ल्याउने तयारी भएको हो।
यसका लागि प्राधिकरणले यो वर्षको बजेटमा ७० करोड रकम विनियोजन गरेको प्राधिकरणका निर्देशक विजयकुमार रायले जानकारी दिए। उनका अनुसार पछिल्लो समय विदेशबाट नेपाल भित्रिने टेलिफोन कलबापत हुने आम्दानी कम हुँदै गएपछि सबैलाई केन्द्रीय प्रणालीमा ल्याएर त्यसको अनुगनम गर्ने तयारी प्राधिकरणले गरेको हो।
यो प्रणालीमा जोडिएसँगै केन्द्रीय प्रणालीको र सेवा प्रदायकको अलगअलग प्रतिवेदन आउनेछ। त्यसले कल लुकायर गर्ने आम्दानीलाई निरुत्साहित गर्न मद्दत गर्नेछ।’ अर्कोतर्फ उक्त प्रणालीमार्फत नेपाल भित्रने अवैध कल र अवैधरूपमा सञ्चालन भइरहेका सेवा प्रदायकको पनि तथ्यांक राख्न सकिनेछ।– अन्नपूर्ण पोष्ट
FACEBOOK COMMENTS