काठमाण्डौँ – विराटनगरबाट व्यावसायीक रुपमा पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु भएको छ ।
प्रदेश नं.१ को अस्थायी राजधानी विराटनगरबाट निजी क्षेत्रको पहलमा पहिलो पटक व्यावसायीक माउन्टेन फ्लाइट सुरु गरिएको हो ।
विराटनगरका पर्यटन व्यवसायीहरुको पहलमा शनिबारबाट शुरु गरिएको माउन्टेन फ्लाइटमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईसहित मन्त्रीहरु, प्रदेश सरकारका प्रमुख सचिव, मन्त्रालयका सचिवहरु, पर्यटन व्यवसायीसहितको टोलीले प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मकालु आदि हिमशिखरहरु अवलोकन गरेका छन् ।
यति एयरलाइन्सको सीआरजे जेट स्ट्रिमको २३ सिटे विमानले माउन्टेन फ्लाइट गरिएको थियो ।
विशेषगरी भारत र बंगलादेशका पर्यटकसमेतलाई लक्षित गरी काठमाडौंभन्दा सस्तो दरमा माउन्टेन फ्लाइटको साप्ताहिक उडान गर्ने योजना छ ।
पर्यटन व्यवसायीहरु आवद्ध ‘विराट होलिडेज’ नामक संस्थाको पहलमा विराटनगर विमानस्थलबाट चार्टर्ड विमानमार्फत हप्ताको एक दिन शनिबार माउन्टेन फ्लाइट गराइने छ ।
विराट होलिडेजका अध्यक्ष भविषकुमार श्रेष्ठका अनुसार साप्ताहिकरुपमा गरिने माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्ससँग साझेदारी गरिएको छ ।
कुल ५५ मिनेटको उडान अवधि रहेको माउन्टेन फ्लाइटका लागि यति एयरलाइन्सलाई प्रतिउडान १ लाख ८० हजार दिने सहमति भएको छ ।
FACEBOOK COMMENTS