काठमाण्डौं– जलासययुक्त पश्चिम सेती आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिनेतयारी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राति बसेको लगानी बोर्डको बैठकले पश्चिम सेती आयोजना शिघ्र कार्यान्वयनका लागि चिनियाँ कम्पनीले उठाएका केही मुद्दा अर्थ र ऊर्जा मन्त्रालयको समन्वयमा दुई महिनाभित्र टुङ्ग्याउने निर्णय गरेको छ।
७५० मेगावाटको पश्चिम सेती आयोजनाको निर्माण चिनियाँ कम्पनीले गर्ने तयारी केही वर्षदेखि भएपनि पछिल्लो समय उर्जामन्त्री वर्षमान पुनले नेपाल आफैंले बनाउने बताएका थिए।
पश्चिम सेती जलविद्युत आयोजनाको विकासकर्ता कम्पनी चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेसन सँग समेत छलफल गरी प्रक्रिया अघि बढाउने
निर्णय भएको बोर्डले जनाएको छ।
शक्तिशाली बन्दै बोर्ड
मंगलबार राति अबेरसम्म भएको बैठकले लगानी बोर्ड ऐन, २०६८ लाई संसोधन गरी लगानी बोर्डलाई शक्तिशाली बनाउने तयारी पनि गरेको छ। ऐन संसोधनका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का सचिव लालशंकर घिमिरेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय भएको बोर्डका प्रवक्ता उक्तमभक्त वाग्लेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ।
ऐनमा आफ्नो अधिकार बढाएर शक्तिशाली बनाउने र विदेशी लगानीकर्तालाई लगानी भित्र्याउन सहजता ल्याउनसबै प्रक्रिया एकै स्थानबाट दिन सक्नेगरी अधिकार सम्पन्न बनाउने तयारी बोर्डको छ।
FACEBOOK COMMENTS