काठमाण्डौँ — सरकारले अब प्रदेश मन्त्रालयका सचिवमा वरिष्ठ सहसचिव खटाउने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार जारी ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ मा सचिव हुने सूचीमा रहेका वरिष्ठतम सहसचिवलाई कार्यसम्पादनको समेत मूल्यांकन गरी प्रदेश मन्त्रालयमा सचिव बनाउने व्यवस्था गरिएको हो ।
अहिले सातै प्रदेशका मन्त्रालयमा कनिष्ठ सहसचिवलाई सचिवको जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको प्रमुख सचिवमा भने विशिष्ट श्रेणी (सचिव १३ औं तह) लाई नै खटाइनेछ ।
‘वरिष्ठ सहसचिव (१२ औं तह) लाई सचिव बनाएर खटाउने व्यवस्था अध्यादेशमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले बताए ।
अध्यादेश जारीसँगै संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनको बाटो खुलेको छ ।
ज्येष्ठता, कार्यरत प्रदेश र स्थानीय तह, स्थायी बसोबासको ठेगाना, नागरिकताको प्रमाणपत्रमा उल्लिखित ठेगानाका आधारमा कर्मचारी समायोजन गरिने अध्यादेशमा उल्लेख छ ।
जागिर अवधि दुई वर्ष मात्र बाँकी भएका निजामती कर्मचारीको भने समायोजन हुने छैन ।
— कान्तिपुर
FACEBOOK COMMENTS