काठमाण्डौँ — महिलाले दैनिकजसो प्रयोग गर्ने सौन्दर्य सामग्रीमा हानिकारक रसायनको मात्रा अत्यधिक पाइएको छ ।
गुणस्तर तथा नापतौल विभागले ६६ ब्रान्डका सौन्दर्य सामग्रीको परीक्षण गरी तयार पारेको प्रतिवेदनमा रसायनको मात्रा अधिक रहेको उल्लेख छ ।
विभागले सबै ब्रान्डका स्वदेशी तथा आयातीत सौन्दर्य सामग्री परीक्षण गरेको थियो ।
त्यसक्रममा सिसा, मर्करी, क्रोमिएम, टिटानियमको मात्रा मापदण्डभन्दा बढी रहेको पाइएको हो ।
विभागका केमिस्ट अम्बिका गैरेका अनुुसार राष्ट्रिय गुणस्तर नभएकाले परीक्षणका लागि भारत, अमेरिकाको यूएसएफडीए र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डलाई आधार बनाइएको थियो ।
प्रतिवेदनअनुसार डब्लूएचओले स्किन क्रिममा मर्करीको मात्रा १ पीपीएम मात्रै तोकेको छ ।
विभागले परीक्षण गर्दा १३ हजार ९ सय ५४ पीपीएमसम्म भेटिएको छ ।
विभागले परीक्षण गरेकामध्ये लिपस्टिकका ७३ प्रतिशत नमुनामा र स्किन क्रिमका ७० प्रतिशत नमुनामा रसायन बढी पाइएको छ ।
विभागले ३४ स्किन क्रिमको नमुना परीक्षण गरेको थियो ।
सिसाको मात्रा डब्लूएचओले अधिकतम १० पीपीएम, भारत र यूएसएफडीएले अधिकतम २० पीपीएमसम्म निर्धारण गरेका छन् ।
परीक्षण गरिएकामध्ये ३ वटा नमुनामा सिसाको मात्रा ७० पीपीएम पाइएको थियो ।
विभागले परीक्षण गर्दा क्रोमियमको मात्रा ५३.२ पीपीएमसम्म पाइएको प्रतिवेदनमा छ ।
केमिस्ट गैरेका अनुसार प्रचलित ब्रान्ड पपया, लोटस, ओले, नेपाली ब्रान्ड सोनाटा, डेकोर, न्यु लुकलगायतमा मापदण्डभन्दा बढी रसायन पाइएको विभागका निर्देशक दीपक ज्ञवालीले बताए ।
गुणस्तर विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सौन्दर्य सामग्रीको गुणस्तरसम्बन्धी मापदण्ड नहुँदा अनुगमन र कारबाही गर्न नसकेको बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS