काठमाण्डौ, फागुन १५- पृथ्वी राजमार्गअन्तर्गत आबुखैरेनी गाउँपालिकाको वडा नं १ सत्रसय फाँटबाट १५ मिनेटमा नै पुग्न सकिने धार्मिक पर्यटकीय गन्तव्य हो आँधिमूल। प्यागोडाशैलीको मन्दिर, पार्क, दुई वटा पोखरी र माछाको आकृतिका २३ वटा धारालगायतका संरचनाका कारण यहाँ आउने जो कोहीको मन लोभ्याउने गरेको छ।
कञ्चन पानी रहेको पोखरीमा ठूलै सङ्ख्यामा खेलिरहेका माछाले जस्तासुकै तनावमा रहेको मानिसको पनि मन शान्त तथा आनन्दित बनाउनु यहाँको विशिष्टता हो। मनले चिताएको पुग्ने जनविश्वासका कारण यसको गरिमा र महत्त्व अझै बढ्दै गएको आँबुखैरेनी गाउँपालिका-१ का वडा अध्यक्ष किसन थापाले बताए।
पछिल्ला वर्षमा पर्यटकको बढ्दो आकर्षणसँगै यसलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने सोचका साथ आफूहरू सक्रियताका साथ लागेको उनले बताए। पर्यटक लक्षित गरी स्थानीय युवाले पनि होटेल व्यवसायमा लगानी बढाउन सुरु गरेका छन्। “आँधिमूल पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ, हामीले ओझेलमा पर्दै गएका पर्यटकीय क्षेत्रको पहिचान, प्रचारप्रसार गर्दै यसको विकासका लागि काम अघि बढाएका छौँ,” वडाध्यक्ष थापाले भने। पछिल्ला वर्षमा स्थानीय तहका साथै गण्डकी प्रदेशले पनि यसको विकासलाई चासो दिएको छ।
आँधिमूलमा तनहुँ, कास्की, गोरखा, लमजुङलगायत आसपासका जिल्लाका साथै देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिरका पुजारी युवराज मास्के मगरले जानकारी दिए। यहाँ दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण पनि दर्शनार्थीको आकर्षण बढ्दै गएको उनको भनाइ छ।
पृथ्वी राजमार्गको सत्रसयदेखि आँधिमूलसम्मको मार्गलाई कालोपत्रे गर्ने तयारीका साथै हावाहुरी आउँदा र पानी परेको समयमा बस्न सहज बनाउने उद्देश्यले ट्रस्ट निर्माण गरिएको छ। जङ्गलको खोचमा अवस्थित यस तीर्थस्थलमा पर्यटक सवारीसाधनबाट सहजै पुग्न सक्दछन्। हिँड्न रुचि राख्ने पर्यटक आधा घण्टाको पैदलमार्ग हुँदै पुग्न सक्ने स्थानीयवासी गाउँकार्यपालिका सदस्य सरस्वती अधिकारीले जानकारी दिइन्।
मन्दिरको उत्पत्ति सम्बन्धमा विभिन्न रोचक तथ्य रहेको बताउँदै उनले एक किंवदन्तीअनुसार परापूर्वकालमा एक जना बज्यै र उनकी नातिनी गाई चराउन यस ठाउँमा आएछन्। नातिनीलाई प्यास लागेछ। पानी खोज्दै जाँदा यहाँ छिपछिप पानी भेटिएछ र प्यास मेटिछन्। मगर भाषामा आँ भनेको प्यास अर्थात् तिर्खा र डि भनेको पानी भनिने भएको भएकाले तिर्खा मेटाउने पानी रहेको स्थानका कारण यसको नाम आँडिमूल भएको र पछि अपभ्रंश भई आँधिमूल भन्ने गरिएको तर्क छ। यसको वास्तविक पहिचान आँडिमूल भएकाले आगामी दिनमा ठाउँको नाम आँडिमूल नै भन्नुपर्ने स्थानीयवासी बताउँछन्।
त्यस्तै अर्को किंवदन्तीअनुसार परापूर्वकालमा मावली भेट्न आउँदै गरेकी चेलीबीच बाटोमा पर्ने जङ्गलको बीचमा आइपुग्दा ठूलो आँधिबेहरी आएछ। आँधिबाट जोगिन यस स्थानमा रहेको चापको रुखको फेदमा रहेको ओडारमा ओत लाग्न पुग्दा त्यही अलप भइछन्। पछि सपनामा आफन्तलाई रुखको फेदमा आँधिमूल बाराही रहेको र त्यहाँ नित्य नसके पनि पूर्णिमाको दिन धुप दीप गरी पूजाअर्चना गर्नु भन्ने आदेश भएछ। सो स्थानमा उत्खनन गर्दा शिला (बाराही) उत्पन्न भएपछि सोही रुखको फेदबाट निस्किएको पानीको मूललाई पोखरीको रुपमा परिणत गरियो। सोही समयबाट आँधिमूल बाराही र पोखरीमा उत्पन्न भएका माछा (मत्स्य अवतार)लाई यहाँका बासिन्दाले पुज्दै आएको जनविश्वास छ।
पोखरी नजिकैको वनलाई संरक्षित वनको रुपमा संरक्षण गर्नुपर्ने, पोखरी रहेको माछालाई हुचिल र सर्पबाट जोगाउनु पर्ने, केटाकेटी र वस्तुभाउबाट जोगाउनुपर्ने, माछालाई चाराको व्यवस्थापनमा ध्यान पुर्याउनुपर्ने तथा मन्दिर क्षेत्रमा बढ्दै गएको फोहोरमैला उचित व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
दर्शनार्थीले विभिन्न कामना गर्दै यहाँ आएर परेवा उडाउने, बोका तथा कुखुराको बलि दिने गर्दछन्। पछिल्ला दिनमा आँधिमूल बाराही देवीको पूजा तथा दर्शन गर्न आउँछन् भने कतिपय अवलोकन भ्रमणका लागि आउने गरेका छन्। स्थानीय तहका साथै प्रदेशबाट पनि आँधिमूलको प्रवर्द्धन र विकासमा चासो दिएसँगै आगामी दिनमा यहाँको थप विकास हुने आशा जगाएको स्थानीवासीले बताए। नेपाल सरकारले देशभरबाट १०० पर्यटकीय गन्तव्य सार्वजनिक गरेपछि गण्डकी प्रदेश सरकारले पनि प्रदेशमा रहेका एक सय १० पर्यटकीय गन्तव्य सार्वजनिक गरेको थियो। गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेशका ११ जिल्लाबाट प्रत्येक जिल्लाका १०/१० पर्यटकीय गन्तव्यको पहिचान गर्दै पर्यटन प्रवर्द्धन हुने गरी पर्यटनको पूर्वाधार विकासमा बजेटसमेत विनियोजन गर्दै आएको छ। प्रदेश सरकारले तनहुँ जिल्लामा आँधिमूल बाराहीसहित बन्दीपुर, देवघाटधाम, ढोरबाराही, छाब्दी बराही, व्यास गुफा, घाँसी कुवा, तनहुँसुर कालिका तथा दरवार क्षेत्र, भानुभक्त जन्मस्थान, छिम्केश्वरी मन्दिर, बूढी देवता मन्दिर र मिर्लुङकोटलाई पर्यटकीय गन्तव्य घोषणा गरेको छ।
FACEBOOK COMMENTS