काठमाडौं, वैशाख २३ – ६५० जना पत्रकार संक्रमित र ७ जनाको मृत्यु भएसँगै नेपाल पत्रकार महासंघले संक्रमित पत्रकारहरूलाई लक्षित गरी अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण थालेको छ । कोरोना भाइरसको महामारीमा समेत अग्रभागमा रहेर पेशागत जिम्मेवारी बहन गर्ने क्रममा संक्रमित हुने पत्रकारहरुलाई लक्षित गर्दै नेपाल पत्रकार महासंघले अक्सिजनसहितको आइसोलेशन केन्द्र निर्माण गरिरहेको जनाएको छ ।
मुलुकभर पत्रकारहरु संक्रमित हुने दर वृद्धि भएसँगै महासंघले केन्द्रीय कार्यालयमा १० बेडको आइसोलेशन निर्माण गरिरहेको बताएको छ । जसमध्ये अक्सिजनसहितको ५ बेडको आइसोलेसन निर्माण कार्य अन्तिम चरणमा पुगेको महासंघले जनाएको छ । थप ५ बेडको निर्माण प्रक्रिया अगाडि बढेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
महासंघले देशभर रहेका सबै प्रदेश र शाखाहरुलाई कोरोना संक्रमित पत्रकार तथा सञ्चारकर्मीको उद्दार तथा उपचारमा सक्रिय सहभागिताका लागि आग्रह गरिरहेको पनि बताएको छ । सो क्रममा अहिलेसम्म रोल्पा, दाङ, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पर्वत र बाग्लुङमा अक्सिजनसहितको आइसोलेसन सेन्टरको व्यवस्था गरिसकिएको महासचिव पुरीको भनाइ छ ।
६५० जना संक्रमित, ७ जनाको मृत्यु
कोरोना भाइरसको विश्वव्यापी महामारीबाट नेपालमा हालसम्म ६५० जना पत्रकार संक्रमित भएका छन् भने ७ जना मृत्यु भइसकेको छ । नेपाल पत्रकार महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार हाल नेपालमा २५२ जना पत्रकारमा सक्रिय संक्रमण छ ।
महासंघका अनुसार संक्रमितमध्ये प्रदेश १ मा १८ जना, प्रदेश २ मा ९ जना, बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ७ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ३० जना र सुदूरपश्चिम प्रदेशमा ३० जना पत्रकारमा सक्रिय संक्रमण छ ।
त्यस्तै उपत्यका, प्रतिष्ठान र एसोसिएट प्रदेशमा ११७ जना संक्रमित रहेको महासंघले जनाएको छ । ‘संक्रमतिमध्ये ३२ जनाको अस्पतालमा उपचार भइरहेको तथा ४ जना आइसीयूमा उपचाररत छन् भने हालसम्म ७ जना पत्रकारको निधन भइसकेको छ,’ महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसीआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाको व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सरकारसँग महासंघले आग्रह गरेको छ । कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।
FACEBOOK COMMENTS