काठमाडौं, जेठ १८ – आईएमई ग्रुपअन्तर्गतको ‘आईएमई फउण्डेशन’ले विभिन्न चार वटा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । विद्यमान कोरोना भाइरसको संक्रमण रोकथाम, न्यूनीकरण तथा संक्रमितको उपचारमा सहयोग पुर्याउने उद्देश्यअनुरूप उक्त कन्सन्ट्रेटर सहयोग गरेको फाउण्डेशनले जनाएको छ ।
फाउण्डेशनले पोखराको गण्डकी प्रादेशिक अस्पताल, बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, धनगढीको सेती प्रादेशिक अस्पताल र काठमाडौंको मिनभवनस्थित निजामति कर्मचारी (सिभिल) अस्पतालका लागि २०/२० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो । प्रदान गरिएका ८० थान कन्सन्ट्रेटरमध्ये १२/१२ वटा १० लिटरका र ८/८ वटा ५ लिटरका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष समेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आज मंगलबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेका हुन् । मन्त्रालयले फाउण्डेशनलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस किसिमको सहयोगको अपेक्षा राखेको बताएको छ ।
FACEBOOK COMMENTS