काठमाडौं । आत्मनिर्भरको सूचीमा राखिएको जुत्तामा नेपालको वैदेशिक व्यापारघाटा चुलिएको छ । गत आर्थिक वर्ष ९आव० २०७७र७८ मा जुत्ताको आयात बढेको र निर्यात ह्वात्तै घटेको देखिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा जुत्ताको निर्यात ६० प्रतिशतले घटेको छ । आव २०७६–७७ मा नेपालबाट ५६ लाख ६२ हजार थान जुत्ता निर्यात भएकोमा उक्त संख्या घटेर आव २०७७–७८ मा २२ लाख ७४ हजार थानमा सीमित हुन पुगेको छ । गएको आर्थिक वर्षमा रू। ७३ करोड २० लाखको मात्र जुत्ता निर्यात भएको छ, जुन आव २०७६–७७ को भन्दा रू। ८७ करोडले कम हो ।
जुत्ताको आयात बढेको विभागको तथ्यांकले देखाएको छ । गएको वर्ष अघिल्लो आवभन्दा आयात ३५ प्रतिशतले बढेको देखिएको हो । आव २०७५–७६ मा २ करोड २० लाख थान जुत्ता आयात भएकोमा यो संख्या गत आवमा बढेर २ करोड ९८ लाख पुगेको छ ।
यो विगत ५ वर्षको तथ्यांकको ठीक विपरीत हो । नेपालमा आव २०७३–७४ यता निरन्तर जुत्ताको आयात घट्दै गएको र निर्यात भने बढ्दै गएको पाइन्छ ।
गत आवमा आयात बढेको छ र निर्यातमा ह्रास आएको देखिएको छ । सरकारले १३ ओटा वस्तुलाई आत्मनिर्भरमुखी सूचीमा राखेको छ । त्यसअन्तर्गत जुत्ता चप्पल पनि पर्छ । औद्योगिक नीति २०६७, औद्योगिक व्यापार ऐन २०७६ र औद्योगिक व्यवसाय नियमावली २०७६ सम्म लागू गरी सरकारले आत्मनिर्भरमुखी व्यवसायलाई प्रवर्द्धन गर्ने बताएको छ । व्यवसायीहरू भने सरकारले जुत्ताचप्पल व्यवसायमा सहजीकरण र छुट्टै विशेष छूट नदिएको बताउँछन् । चितवन फुटवेयरका सञ्चालकसमेत रहेका नेपाल जुत्ताचप्पल एशोसिएशन संघका वरिष्ठ उपाध्यक्ष उत्तमप्रसाद अधिकारीले कच्चा पदार्थको आयातमा भन्सारले कुनै छूट नदिएको र अन्य राजस्व दरअन्तर्गत राखेको बताए । उनले भने, ‘सरकारबाट खास कुनै सहयोग भएको छैन, अहिलेसम्म व्यवसायीहरू आफ्नै बलबुताले यहाँसम्म आएका हुन् ।’
सरकारबाट सहजीकरण नभएको र कोभिडपछि अधिकांश जुत्ता कारखाना प्रायः बन्द जस्तै भएकाले उत्पादन घटी माग पूर्ति गर्न आयात बढेको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS