काठमाडौं, ३ भदौ । कोरोना भाइरस (कोभिड–१९) को विद्यमान महामारीका समयमा पनि फ्रन्टलाइनमा रहेर काम गर्नुपर्ने भएकाले नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालले आफ्ना सम्पूर्ण सदस्य तथा कर्मचारीका लागि जतिसक्दो चाँडो खोप उपलब्ध गराइदिन सरकारसँग बारम्बार पहल गरिरहेको छ ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाइले साउन ३२ गते टेकुस्थित स्वास्थ्य सेवा विभागको खोप सचिवालयलाई एक पत्र पठाउँदै एसोसिएशनको माग अनुसार खोप उपलब्ध गराइदिने व्यहोराको पत्र पठाएको थियो । नाडाले गरेको पटक–पटकको पहलपछि विपद व्यवस्थापन इकाइले पठाएको सो व्यहोराको पत्र अनुसार अहिले नाडा सदस्यहरूले खोप प्राप्त गरिरहेका छन् ।
नाडाले खोपको माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई साउन २७ गते औपचारिक पत्राचार गरेको थियो । सोही पत्राचारको आधारमा मन्त्रालयको विपद व्यवस्थापन इकाइले नाडाका सदस्य तथा कर्मचारीलाई खोप उपलब्ध गराउन आवश्यक पहलकदमी लिएको थियो ।
तर, नाडाको संस्थागत पहलबाट प्राप्त भएको खोपको उक्त अवसरलाई संस्थाकै जिम्मेवार व्यक्तिले भने आफ्नो व्यक्तिगत स्वार्थ अनुकुल प्रयोग गरेको पाइएको छ । प्राप्त सूचना अनुसार संस्थाका उपाध्यक्ष करण चौधरीले खोपको उपलब्धतामा आफ्नो पहलकदमी मुख्य कारण रहेको भन्दै सदस्यहरूलाई खोप लगाउन जान अनुरोध गरिरहेका छन् ।
त्यतिमात्र होइन, उनले आफ्नो निजी कार्यालयबाट नाडाका अधिकांश सदस्यहरूलाई टेलिफोन गरी आफ्नो कारण खोप उपलब्ध भएको आशयका साथ खोप लगाउन जान अनुरोध भइरहेको पाइएको छ । खोप लगाउने व्यवसायी तथा कर्मचारीको नाम टिपाउनका लागि नाडाको सचिवालयबाट खबर गरिनुपर्ने भए पनि करण चौधरीको निजी कार्यालयबाट टेलिफोनमार्फत खोपबारे जानकारी आएको नाडाका एक सदस्यले कर्पोरेट खबरलाई जानकारी दिए ।
नाम उल्लेख गर्न नचाहेका ती सदस्यले भने, ‘उपाध्यक्ष करण चौधरीको पहलमा नै खोप उपलब्धता र व्यवस्थापन भइरहेकोझैं गरेर उहाँको कार्यालयबाट टेलिफोन आयो । पछि बुझ्दै जाँदा संस्थाको पहलबाटै खोप उपलब्ध भए पनि उहाँले आफ्नो प्रभाव कायम गर्न त्यसरी फोन गर्न लगाइएको रहेछ ।’ त्यस्तो आशयको फोन धेरै सदस्यहरूकोमा पुगेको उनको दाबी छ ।
नाडामा चुनावी माहोल शुरू भइसकेको छ । उपाध्यक्ष चौधरीले सामाजिक सञ्जालमार्फत नाडाको भावी नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । यसरी उम्मेदवारी समेत घोषणा गरिसकेका जिम्मेवार व्यक्तिले खोपको सन्दर्भमा चालेको कदमलाई पूर्णरूपमा व्यक्तिगत स्वार्थ भएको कतिपय व्यवसायीहरूको टिप्पणी छ ।
आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न कै लागि उनले जारी खोप अभियानको दुरूपयोग गरेको समेत उनीहरूको भनाइ छ । त्यसो त यसपटक नाडाले अहिलेसम्मकै धेरै सदस्यता वितरण गरेको पनि बताउँदै आएको छ । तर, उनै चौधरीले हार्डवेयर व्यवसायी समेतलाई सदस्य बनाएको भन्दै सदस्यतामा पनि विवाद जारी छ ।
उपाध्यक्ष चौधरी जसरी हुन्छ चुनाव जित्ने रणनीतिमा छन् । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा जानका लागि पनि करणलाई नाडाको नेतृत्वमा पुग्न चुनाव जित्नैपर्ने दबाब छ । त्यसैका लागि उनले संस्थागत रूपमा संस्थाले नै गर्नुपर्ने काम निजी तवरबाट गर्ने दुष्प्रयास गरिरहेको बताइन्छ ।
यसैबीच संस्थागत खोपमा व्यक्तिगत उपयोग भएको भन्ने विषय निराधार र गलत भएको नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् । संस्थाका जिम्मेवार कोही व्यक्तिले आफ्ना सदस्य तथा कर्मचारीहरूलाई खोप लगाएको हो कि होइन भनेर जानकारी राख्नु सामान्य कुरा भएको अध्यक्ष दुलालको भनाइ छ ।
‘एकैचोटी धेरै सदस्यहरूलाई जानकारी गराउन नाडाको सचिवालयले मात्रै सम्भव नभएपछि साथीहरूले व्यक्तिगत नम्बरहरूबाट टेलिफोन गरी कसैलाई जानकारी दिएका हुन सक्छन्, तर व्यक्तिगत स्वार्थकै लागि त्यसो गरिएको भने पक्कै होइन,’ अध्यक्ष दुलालले भने । महामारीका समयमा नाडाले हालसम्म जे–जति सुविधा प्राप्त गरेको छ, ती सबै संस्थागत पहल भएको तथा कसैको व्यक्तिगत पहलमा नभएको उनले स्पष्ट पारेका छन् ।
अध्यक्ष दुलालका अनुसार हाल नाडाका सदस्यहरूले खोप लगाइरहेका छन् भने केही कर्मचारीहरूले लगाउन बाँकी छ ।
यो पनि पढ्नुहोस्–
अटोमोबाइल क्षेत्रका कर्मचारीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन नाडाको माग
FACEBOOK COMMENTS