काठमाडौँ । कोभिड-१९ को महामारीका कारण स्वदेश फर्केका चिनियाँ प्राविधिक टोली नेपाल नफर्कंदा काठमाडौँको वसन्तपुर क्षेत्रको नौतले दरबारको पुनर्निर्माण ठप्प भएको छ । अहिलेसम्म ८० प्रतिशत काम सम्पन्न भएको र बाँकी काम करिब डेढ वर्षदेखि स्थगित छ ।
हनुमानढोका दरबार सङ्ग्रहालयका प्रमुख सन्दीप खनालले दरबार पुनर्निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीका प्राविधिक र कामदार नेपाल नफर्कंदा बाँकी काम अगाडि बढ्न नसकेको बताउनुभयो । पुनर्निर्माणको जिम्मा ‘चाइनिज एकेडमी अफ कल्चरल हेरिटेज’ले पाएको छ । उनले भने, ‘२०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दीभन्दा पहिला नै चिनियाँ प्राविधिक टोली स्वदेश फर्केका हुन् । त्यसपछि उहाँहरू नेपाल आउनुभएको छैन ।’ सो दरबार २०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
खनालले भने, ‘‘निर्माणको जिम्मा पाएका चिनियाँ कम्पनीसँग हामी नियमित सम्पर्कमा छौँ । नेपालमा कोभिडको महामारी सामान्य भएपछि नेपाल आएर बाँकी काम पूरा गर्ने चिनियाँ पक्षले बारम्बार प्रतिबद्धता गरिरहेको छ ।’’ चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा पुनर्निर्माण भइरहेको सो दरबार निर्माणको समयावधि २०७९ को कात्तिक (सन् २०२२ को नोभेम्बर) सम्म रहेको छ ।
‘‘पुनर्निर्माण गर्नुपर्ने भवनहरूको निर्माण सम्पन्न भइसकेको छ । गजुर र घन्ट राख्नेलगायत भित्रको फिनिसिङको काममात्र बाँकी छ । चिनियाँ प्राविधिक टोली नआएसम्म काम अगाडि बढाउने अवस्था छैन,’’ उनले भने ।
उनका अनुसार, चिनियाँ प्राविधिक टोली र कामदार आएर काम सुरु गरेपछि बढीमा छ महिनाभित्र सम्पूर्ण काम सकिन्छ । गत आर्थिक वर्षभित्रै पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा कोभिडको महामारी र बन्दाबन्दीका कारण सो लक्ष्य हासिल हुन नसकेको उनले स्पष्ट गरे ।
वसन्तपुरको नौतले दरबारमा फलामे डन्डीको खट बाँधी चर्किएको गारोलाई सबलीकरण गर्ने र माथिल्लो भागलाई पुनर्निर्माण गरिँदै छ । दरबारको भित्तामा माटो, गोबर र भुसबाट निर्मित लिउन लगाउने र भत्किएको भाग पुरानै शैलीमा निर्माण गरिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS