असोज ६, काठमाडौँ । कतारले राष्ट्रसंघको बैठकमा विश्वका सबै नेतालाई तालिबानसँग सम्पर्कमा रहन आग्रह गरेको छ । तालिबानलाई बेवास्ता गर्दा ध्रुवीकरण र त्यसको प्रत्युत्तरमा विभिन्न गतिविधि हुन सक्ने बताएको छ ।
गत महिना अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएको तालिबानले संयुक्त राष्ट्रसंघको महासभामा बोल्न पाउनुपर्ने माग राखेको छ । तालिबानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सोमबार एक पत्र लेख्दै महासभामा बोल्न पाउनुपर्ने बताएका हुन् ।
अहिले तालिबानले गरेको आग्रहको विषयमा विचार गर्ने जिम्मा क्रेडेन्सियल कमिटीको हुन्छ । यो कमिटिमा अमेरिका, चीन र रुससहित नौ सदस्य राष्ट्र छन् ।
यद्यपि यो कमिटिको बैठक राष्ट्रसंघको महासभा अघि बस्ने सम्भावना निकै कम छ । त्यतिबेलासम्मका लागि राष्ट्रसंघको नियमअनुसार घुलाख इसाक्जाई राष्ट्रसंघको लागि अफगानिस्तानका स्थायी प्रतिनिधि रहनेछन् । उनले सेप्टेम्बर २७ मा राष्ट्रसंघमा आफ्नो भनाइ राख्ने अपेक्षा छ ।
तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानमा कब्जा जमाउँदा पनि राष्ट्रसंघका स्थायी प्रतिनिधि भने पुरानै सरकारका प्रतिनिधि थिए ।
FACEBOOK COMMENTS