काठमाडौं । मंगलबार सेयर बजार मापक सूचक नेप्से ७०.०१ अंकले घटेर २६१५.४० विन्दुमा आइपुगेको छ । यसदिन २१८ कम्पनीको ५ अर्ब ७४ करोड ५४ लाख ८८ हजार १७९ रुपैयाँ बराबरको १ करोड ३० लाख ३४ हजार ८२९ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.३७ प्रतिशतले घटेको छ । यस्तै, हाइड्रोपावर ४.७४, विकास बैंक र लगानी समूह पनि ३ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज कुमारी बैंकको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै, हिमालयन डिस्टीलरी १७ करोड र नेशनल हाइड्रो १५ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।
उच्च अंकले घटेको बजारमा आज ५ कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । हिमालयन पावर र नेशनल हाइड्रो डेभलपर कम्पनीको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले घटेको छ । यसैगरी, गोर्खा फाइनान्स, जोशी हाइड्रोपावर र श्री इन्भेष्टमेन्टका सेयरधनीले पनि करिब १० प्रतिशत गुमाएका छन् । यस्तै, शिवश्री हाइड्रो र समृद्धि फाइनान्सको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंक, वरुण हाइड्रोपावर, कुमारी बैंक, आइसीएफसी फाइनान्ससहित १ दर्जन कम्पनीको मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।
घट्दो बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्तको सेयर मूल्यमा ठ्याक्कै १० प्रतिशतले बढेको छ भने मैलुङ खोला जलविद्युत् कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।
FACEBOOK COMMENTS