१८ असोज, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नीतिगत अस्थिरताका कारण पुँजी बजारमा उतारचढाब आएको बताएको छ ।
महासंघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतार चढाव आएको महसुस गरेको छ ।
मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरूको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बिमा कम्पनीहरूको लगानी सीमालाई संकुचन गरिनु, शेयर धितो कर्जामा लगाईएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरिद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्थाजस्ता विभिन्न नीतिगत परिवर्तनको कारण शेयरबजारमा असर परेको देखिन्छ, तेसैले पूँजीबजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालाहरुसँग पनि छलफल र विमर्श गर्न सम्बन्धित सबैमा आग्रह गर्दछ भनि उल्लेख गरेको छ ।
विज्ञप्तिमा लगानीकर्ताहरुलाई आफूले कारोबार गर्न खोजेको कम्पनीका बारेमा वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न आग्रह पनि गरेको छ ।

शेयर बजार घटबढ हुने क्रममा भदौ यता समग्रमा पूँजीबजार ओरालो लागेको देखिन्छ भन्दै विज्ञप्तिमा यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिएको र उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्न आवश्यक रहेको पनि उल्लेख गरेको छ ।
