काठमाडौँ । बडादशैंको आज अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा हो । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजबाट दशैंपर्व सकिन्छ ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएपछि १५ दिनसम्मको दशैंलाई बिसर्जन गर्ने प्रचलन रहेको छ ।
बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको काम पनि आजै समापन हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । अखिल बलिपूर्ति भएसँगै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाई मान्यजनबाट आशीर्वाद लिने काम पनि आजैबाट सकिन्छ । आज घरमा राखेको जमरालाई नजिकको नदी, तलाउ, पोखरी जस्ता स्थानमा सेलाइन्छ ।
आज सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा यो पर्व मनाउन सुरु गरिएकोे धर्मशास्त्रविद्हरुको भनाई छ ।
माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा सकिन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने बुधबार रहेको छ । आज ३१ घडी ४६ पला अर्थात् बेलुकी ६ः४९ बजेसम्म चतुर्दशी तिथि छ। त्यसपछि पूर्णिमा तिथि लाग्छ। मध्यरातमा पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा आजै मनाइने भएको छ । बुधबार पूर्णिमा तिथि ३३ घडी ५३ पला अर्थात् बेलुकी ७ः४० बजेसम्म रहेको छ ।
FACEBOOK COMMENTS