‘ठग’ भन्नेबित्तिकै तपाईंको मनमा के आउँछ ? अरू केही आओस् नआओस्, थोरै भए पनि नकारात्मक भाव त अवश्य आउँछ होला । यो यस अर्थमा पनि कि ‘ठग’ आफैंमा नकारात्मक अर्थ दिने शब्द हो ।
प्रथमतः सबैले यस आलेखको शीर्षक बुझौं ।
प्रचलित ‘प्रज्ञा नेपाली बृहत् शब्दकोश’अनुसार ‘ठग’को अर्थ ‘धोकामा पारेर वा छल गरी अरूको धनमाल लिने, नाना थरी बहाना झिकी काम नगर्ने, काममा छलछाम गर्ने’हरू ठग हुन् । यस (ठग) शब्दलाई उल्लेखित शब्दकोशले अर्थ्याअनुसार ठीकै मान्न सकियो । तर, एक विषयमा भने मेरो दुखेसो छ । भाषाविज्ञहरूले ‘बृहत्’ भनिएको उल्लेखित शब्दकोशमा बहुअर्थी शब्द ‘जग’को ‘पूर्ण’ अर्थ ‘अपूर्ण’ राखेका छन् । ‘जग’ शब्दको अर्थ ‘संसार’ पनि हुन्छ ।
अब हामी सबैको सामान्य बोलीचालीको भाषामा प्रस्तुत ‘ठगहरूको जग’ आलेखको शीर्षक बुझौं । सामान्य अर्थमा ठग भनेका ती हुन् जो ‘अरूलाई घाटा पुर्याएर आफूलाई फाइदा’को काम गर्छन् । त्यस्तै, यस आलेखमा ‘जग’ शब्दलाई ‘संसार’को अर्थमा प्रयोग गरिएको हो भन्ने विषय त यहाँहरूले बुझिसक्नु भएकै छ ।
अब विषय प्रवेश गरौं ।
तपाईं जीवनमा के चाहनुहुन्छ ?
भन्नै नपर्ला । जीवनमा हरेकले चाहने सफलता, सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य नै हो । यिनै कुराका लागि जगतको सबभन्दा विवेकी मानिएको प्राणी मानिस हरबखत दौडधुप र संघर्षमा हुन्छ । यस आलेखमा उद्घाटन गर्न खोजिएको मूल विषय यसैमा आधारित हो ।
हामीले बुझेका छौं, कर्म नै धर्म हो । तर, यसो भन्दैमा जे कर्म गरे पनि धर्म नै हुन्छ भन्ने हुँदैन । कर्म हितकारी हुनुपर्छ । कस्तो हित ? जवाफ हो, सर्वव्यापी हित ।
अब हामी स्पष्ट भयौं, हामीले गर्ने हरेक कर्म हरेकका लागि फाइदाजनक हुनुपर्छ, नकि कसैलाई घाटा पुर्याउने ।
मानव जीवनमा सुख, शान्ति र समृद्धिका लागि मूलभूत आवश्यकता के हो ? जवाफ सोझो छ, ‘इमान्दारितापूर्वक कर्ममा मनको लगन’ । तर, वर्तमान परिप्रेक्ष्यमा भइरहेको छ के ? कुकृत्य गरिहिँड्नेहरू अघिअघि, कर्ममा इमान्दारितापूर्वक लगन भएकाहरू सधैं पछि । यसका उदाहरण तपाईं-हामी सामुन्नै छन्, नियालौं ।
मनन गर्नुस् त, यसो हुनुको मुख्य कारण के होला ? मनन गरिरहँदा ‘ठग मनोवृत्ति’का मान्छेहरूबारे पनि तपाईंको मगजमा केही विचार आयो नै होला । ठग्नुको अर्थ इमान्दार नहुनु हो । कसैलाई झुक्याउनु, ढाँट्नु र धोका दिनु ठग्नु हो । कामचोर हुनु ठग्नु हो । अनि, यस्तैहरूको हित भएपछि भएन त ‘ठगहरूको जग’ ? आँ अलंकार !
(‘आँ अलंकार’ शृंखला लेखकको निजी विचारमा आधारित विकृति र विसंगतिविरूद्धको सांकेतिक प्रहार हो)
FACEBOOK COMMENTS