काठमाडौं । वायुसेवा सञ्चालक संघ, नेपाल (एओएएन) र एरोनटिकल सोसाइटी अफ नेपाल (एईएसएन) बीच एक महत्वपूणस् समझदारी भएको छ ।
नेपालको उड्डयन क्षेत्रलाई थप एकताबद्ध, सुरक्षित, दिगो तथा नवप्रवर्तनमुखी बनाउने उद्देश्यका साथ सोमबार दुई संस्थाबीच समझदारी गरिएको हो ।
संघले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त समझदारीमार्फत नेपालको उड्डयन क्षेत्रको वर्तमान आवश्यकता, भावी चुनौती तथा अवसरहरूलाई संयुक्त रूपमा सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
दुवै संस्थाले आफ्नो अनुभव, ज्ञान र विशेषज्ञतालाई एकीकृत गर्दै नेपालको उड्डयन क्षेत्रको समग्र विकास, एकता र सुदृढीकरणका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।
विज्ञप्तिअनुसार विश्वव्यापी रूपमा उड्डयन उद्योग डिजिटल रूपान्तरण, स्वचालन, दिगोपन, डेटा–आधारित निर्णय प्रणाली तथा नयाँ प्रविधिको प्रयोगतर्फ तीव्र गतिमा अघि बढिरहेका बेला नेपालले पनि आफ्नो उड्डयन क्षेत्रलाई समयानुकूल रूपान्तरण गर्न आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

यही आवश्यकतालाई मध्यनजर गर्दै एओएएन र एईएसएन ले उद्योगमा सहकार्य, एकरूपता र साझा दृष्टिकोण निर्माणमार्फत भविष्यका अवसर तथा चुनौतीहरूको सामना गर्न सक्ने वातावरण तयार गर्ने लक्ष्य लिएका छन् ।

समझदारीपत्रमार्फत वायुसेवा कम्पनी, विमानस्थल तथा सेवा प्रदायक संस्था, इन्जिनीयर, प्राविधिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद्, विद्यार्थी तथा भावी उड्डयन व्यवसायीहरूलाई एउटै मञ्चमा ल्याई ज्ञान, अनुभव, नवप्रवर्तन र विशेषज्ञताको आदानप्रदानलाई प्रोत्साहन गरिने जनाइएको छ । यसले नेपालको उड्डयन क्षेत्रमा व्यापक एकता, सहकार्य र दीर्घकालीन विकासको आधार निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ ।

हेर्नुहोस् विज्ञप्ति–
