काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले कारागारबाट फरार एक कैदीलाई काठमाडौंबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको देवघाट गाउँपालिका–१ का ५६ वर्षीय विष्णु बहादुर गुरुङ छन् । उनी भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सुन्धारास्थिति जगन्नाथदेवल कारागार (केन्द्रीय कारागार) बाट भागेका थिए ।
प्रहरीका अनुसार गुरुङले अवैध रूपमा ‘बाघको छाला बिक्री’ प्रकरणमा संलग्न रही सजाय भुक्तान गरिरहेका थिए । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयको फैसला अनुसार उनलाई १५ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको थियो ।
जगन्नाथदेवल कारागारमा सजाय काटिरहेका गुरुङ गत फागुन २४ गते कारागारबाट भागेका थिए । त्यसपछि फरार रहेका उनलाई प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं महानगरपालिका–१४, कलंकी क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका गुरुङलाई सोही दिन पुन: केन्द्रीय कारागार, जगन्नाथदेवल (सुन्धारा) पठाइएको प्रहरीले जनाएको छ । प्रहरीले फरार अभियुक्तहरूको खोजी तथा नियन्त्रणलाई तीव्र बनाइएको पनि जनाएको छ ।

FACEBOOK COMMENTS