काठमाडौं । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन् ।
यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी २३ असारमा ६५ वर्षे उमेर हदका कारण अवकाश भएपछि त्यसपछिको वरियतामा रहेकी आयुक्त डा तुलाधरलाई सो जिम्मेवारी सरेको हो ।
आयुक्त भण्डारीकै नेतृत्वमा गत २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । पाँच सदस्यीय हुने आयोगका हाल आयुक्त डा तुलाधर र आयुक्त सगुनशमशेर जबरा कायम छन् ।
तत्कालीन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको ५ वैशाख २०८२ र तत्कालीन निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलको ४ फागुन २०७९ मा कार्यकाल सकिएको थियो ।
संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका तीन जनाविरुद्ध उजुरी आह्वानसहित सुनुवाइ प्रक्रिया सुरु गरेको छ ।
संवैधानिक परिषद्ले मानबहादुर कार्की (मोरङ)लाई प्रमुख निर्वाचन आयुक्त तथा डा राजीव सुब्बा (काठमाडौं) र गुरुप्रसाद वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ ।