काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र डिजिटल भुक्तानी संस्था भिसाबीच भिसा कार्ड पोर्टफोलियो विस्तार तथा डिजिटल भुक्तानी सेवा सुदृढीकरणका लागि सम्झौता भएको छ।
सहकार्यले कार्ड सेवा, भुक्तानी स्वीकार्यता र नयाँ सेवा विकासमार्फत ग्राहक अनुभव सुधार गर्ने दीर्घकालीन आधार तयार पारेको छ ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वर प्रसाद बस्यालले भने, ‘यस सम्झौताले सिद्धार्थ बैंकको भिसा कार्ड व्यवसायलाई थप सुदृढ बनाउन महत्वपूर्ण आधार तयार गरेको छ ।
यस रणनीतिक सहकार्यमार्फत भिसा कार्ड पोर्टफोलियो विस्तार, ग्राहक सुविधामा वृद्धि तथा कार्डको प्रयोग बढाउँदै डिजिटल भुक्तानी प्रणालीको विकासमा थप योगदान पुर्याउने हाम्रो लक्ष्य रहेको छ ।’
भिसाका नेपाल, भुटान तथा बङ्गलादेश कन्ट्री म्यानेजर सब्बिर अहमदले भने, ‘नेपालको डिजिटल भुक्तानी प्रणाली तीव्र रूपमा विस्तार भइरहेको अवस्थामा सिद्धार्थ बैंकसँगको यो सहकार्यले देशभर सुरक्षित, विश्वसनीय तथा नवीन भुक्तानी सेवाको पहुँच विस्तार गर्ने भिसाको प्रतिबद्धतालाई थप बलियो बनाएको छ ।’

सम्झौताअनुसार बैंकले सुरक्षित र नवीन डिजिटल भुक्तानी समाधान विस्तार गर्दै थप सुविधा तथा अफर ल्याउने योजना बनाएको छ ।
