एजेन्सी । फ्रान्सको इफेल टावरमा ‘प्यारासुटिङ’ गरेको आरोपमा फ्रान्सको कानुन प्रवर्तन निकायले बिहीबार दुई जनालाई पक्राउ गरेको छ ।
सुरक्षा निकायका कर्मचारीले ३३० मिटर अग्लो पेरिस स्मारकको उकालो चढ्ने क्रममा नकाब लगाएका र प्यारासुट बोकेका ती जोडीलाई देखेका थिए र उनीहरूले प्रहरी र नागरिक सुरक्षा टालीलाई टावर परिसरमा बोलाएका थिए ।
स्थानीय समयअनुसार बिहान छ बजेतिर उनीहरू टावरबाट हाम फालेका थिए र अवतरणपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । स्मारक नजिकै रहेका तर आरोहणमा भाग नलिएका तेस्रो व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।
सन् १८८९ मा पेरिसको युनिभर्सल एक्जिबिसनका लागि निर्माण सम्पन्न भएको इफेल टावर पेरिस शहरको स्वामित्वमा छ ।
विश्वको सबैभन्दा बढी अवलोकन गरिएको स्मारकमध्ये एक यो स्मारकले प्रत्येक वर्ष लगभग ७० लाख मानिसहरूलाई आकर्षित गर्दछ भने तीमध्ये लगभग तीन–चौथाई विदेशी पर्यटक हुने गरेका इफेल टावरको वेबसाइटमा उल्लेख गरिएको छ ।
FACEBOOK COMMENTS