विराटनगर । विराटनगरको गोल्डेन अस्पतालमा एक बिरामीले आत्महत्या गरेका छन् । उपचारका लागि भर्ना भएका धनपालथान गाउँपालिका– १ का ३५ वर्षीय शिवकुमार मण्डलले आत्महत्या गरेका हुन् । मंसिर ४ गते भर्ना भएका मण्डललाई अस्पतालले मंसिर ७ गते डिस्चार्ज गरे पनि उपचार खर्च १९ हजार रुपैयाँ तिर्न नसक्दा घर जान नपाएको आफन्तले बताएका छन्।
शुक्रबार बिहान करिब ६ बजे अस्पतालबाट हामफालेका मण्डलको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको हो । छारे रोगको उपचारका लागि उनी अस्पताल भर्ना भएका थिए । उपचारमा खटिएका नर्सले रोक्ने प्रयास गर्दा गर्दै मण्डलले हामफालेको अस्पतालका प्रशासनले बताएको छ । छारे रोगको समस्या देखिएका मण्डलमा मानसिक पनि समस्या रहेको उनले बताए । मानसिक रोग भएकै कारण अस्पतालबाट हामफालेको उल्लेख गरिएको छ ।
प्रहरीका अनुसार सासु शौचालय गएका बेला मण्डलले अस्पतालबाटै हामफालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मण्डलको मृत्यु भएपछि आफन्तले क्षतिपूर्ति माग गर्दै शव बुझ्न अस्वीकार गरेका छन् ।
FACEBOOK COMMENTS