काठमाडाैं । अटोमोबाइल्स व्यवसायीहरुले आज काठमाडौँको माइतीघर मण्डलामा धर्ना दिएका छन् । बैंककाे ब्याजदर लगायतका माग राख्दै व्यवसायीहरूले धर्ना दिएका हुन् ।
बिहिबारकाे धर्ना कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको तर्फबाट केन्द्रीय उपाध्यक्ष दिनेश श्रेष्ठ पनि सहभागी छन् । यस अघि नै घोषित पहिलो चरणको आन्दोलन अन्तर्गत आज अन्तिम दिन माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै शान्तिपूर्ण धर्ना कार्यक्रम आयोजना गरिएको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । उनका अनुसार अब कार्यसमिति बैठक बसेर अर्को चरणको आन्दोलनको घोषणा गरिनेछ । अबको आन्दोलन भद्र र निर्णायक हुने उनले बताएका छन् ।
सरकारले गाडी र मोटरसाइकलको आयातमा लाग्दै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेपनि व्यवसायीहरुले आफ्नो आन्दोलन जारी राखेका हुन् । सरकारले ८ महिना अघि (बैशाख) देखि लगाएको आयात प्रतिबन्ध खुल्ला गर्ने निर्णय स्वागतयोग्य भएपनि अझै व्यवसाय गर्न सक्ने वातावरण नबनेकाले आन्दोलन जारी राखिने नाडा अटोमोबाइल्स एसोसियसन अफ नेपालका अध्यक्ष ध्रुब थापाले बताए ।
व्यवसायीहरूका मागहरू यसप्रकार छन:
-अटो कर्जामा बढाइएको जोखिमभार घटाउनु पर्ने,
-नगद मार्जिनको ब्यवस्था हटाउनु पर्ने,
-चालु पूँजी कर्जा मार्गदर्शन–२०७९ हाललाई स्थगन गर्नुपर्ने,
-अटो कर्जाको सिमा बढाउनु पर्ने,
-बैंकले लगाउँदै आएको उच्च प्रिमियम दर नियन्त्रण गर्नुपर्ने
FACEBOOK COMMENTS