काठमाडौं । बजारमा बैंकिङ प्रणालीमा तरलता अभाव रहेको चर्चा चलिरहेका बेला विभिन्न तथ्यांकले यतिखेर तरलता अभाव नरहेको देखाएका छन् ।
गत आर्थिक वर्षको शुरूदेखि बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य रकम (तरलता) को अभाव सहज बन्दै गएको हो । चाडपर्व र चुनावका कारण बैंकिङ प्रणालीबाट बाहिरिएको रकम फिर्ता हुन थालेको र रेमिट्यान्स (विप्रेषण) आप्रवाह बढेका कारण बैंकिङ प्रणालीमा भएको निक्षेप वृद्धिले तरलतामा सुधार देखिएको हो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आइतवारसम्मको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थासँग ५२ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप छ । यसमध्ये वाणिज्य बैंकहरूसँग ४६ खर्ब २९ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थासँग ६ खर्ब २५ अर्ब रुपैयाँ छ । यसैगरी आइतवारसम्म बैंक, वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४७ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ । यसमा वाणिज्य बैंकको अंश ४२ खर्ब १३ अर्ब रुपैयाँ र विकास बैंक तथा वित्तीय संस्थाको अंश ५ खर्ब ४६ अर्ब रुपैयाँ छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक, वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९सीडी रेसियो० ८५ दशमलव ८६ प्रतिशत छ । बैंकहरूले ९० प्रतिशत सीडी रेसियोसम्म कर्जा दिन पाउने व्यवस्था भएकाले २ खर्ब २६ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार गर्न सक्ने क्षमता रहेको पूर्वबैंकर पर्शुराम कुँवर क्षेत्री बताउँछन् । पुसमा सरकारी ढुकुटीमा फिर्ता हुने रकम घटाउँदासमेत १ खर्ब रुपैयाँभन्दा बढी तरलता बैंकिङ प्रणालीमा हुने भएकाले अभाव नहुने उनले दाबी गरे ।
‘सरकारको आन्तरिक ऋण, कर तथा स्थानीय तहको निक्षेप गणना गर्ने रकम घटाउँदा पुसमा बैंकिङ प्रणालीमा तरलता अभाव हुन्छ भनेर विश्लेषण भइरहेको छ,’ क्षेत्रीले भने, ‘यी सबै घटाउँदा पनि बैंकहरूमा १ खर्ब हाराहारी कर्जा दिने क्षमता बाँकी रहने भएकाले तरलताको समस्या हुँदैन ।’ पछिल्लो समय बैंकमा निक्षेप बढिरहेकाले माघबाट ठूलो समस्या थपिएन भने ब्याजदर घटाउनुपर्ने उनको भनाइ छ ।
उनका अनुसार पुस मसान्तपछि बैंकहरूले स्थानीय तहको निक्षेप रकम ८० प्रतिशतको सट्टा ५० प्रतिशतमात्र निक्षेपमा गणना गर्न पाउने व्यवस्थाले ३१ अर्ब हाराहारीमा निक्षेप घट्छ । पुनर्कर्जाबापतको ८० अर्ब रुपैयाँ फिर्ता हुन्छ । यस्तै गत आवको आधारमा पुसमा ४५ अर्ब रुपैयाँ हाराहारी करबाट सरकारी ढुकुटीमा जाने भए पनि १ खर्बभन्दा बढी तरलता कायमै रहने उनले विश्लेषण गरेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS