नेपालमा बैंक तथा वित्तीय संस्थाको विकास तीव्ररूपमा भइरहेको छ ।
सहर–सहर, टोल–टोल र घर–घरमा तिनका शाखा विस्तारको क्रमले निरन्तरता पाइरहेको छ । एउटै घरमा दुईभन्दा बढी वित्तीय संस्था खुलेका छन् । नेपाल राष्ट्र बैंकले तत्कालका लागि नयाँ वाणिज्य बैंकको लागि आवेदन लिन बन्द गरेको छ ।
नयाँ बैंक खुल्ने क्रम रोकियो तर तिनको शाखा विस्तारको क्रम भने जारी नै छ । राष्ट्र बैंकले स्वीकृति दिएका वित्तीय संस्थाहरूको संख्या मात्रै २०० नाघिसकेको छ । नेपाल राष्ट्र बैंकको आँकडा अनुसार वाणिज्य बैंकहरूले मात्रै अहिलेसम्म नेपालभर एक हजारभन्दा बढी शाखा विस्तार गरिसकेका छन् ।
यो सबै सम्भव प्रविधिमा आधारित बैंकिङ भएर नै भएको हो । नेपालका कुनाकाप्चासम्म बैंकिङ पुर्याउनु ठूलो पहाड चढेजस्तै चुनौतीपूर्ण काम हो । प्रविधिको प्रयोगबिना त्यो सम्भव छैन । उसो त प्रविधिको प्रयोगमा नेपालका वित्तीय संस्थाहरू अन्य सबै क्षेत्रभन्दा अगाडि छन् ।
नेपालमा बैंकिङको सुरुवात हुँदा तत्कालीन समय सञ्चालनमा रहेका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका सम्पूर्ण कारोबार ‘म्यानुअल’ हुन्थ्यो । अर्थात्, खाता खोल्ने, पैसा जम्मा गर्ने, निकाल्ने र खातामा ब्याज चढाउनेसम्मका काम एकएक गरेर हातैले गर्नुपथ्र्यो । सन् १९८४ मा नेपाल अरब बैंकको स्थापना भएपछि भने नेपालमा पहिलोपल्ट कम्प्युटरमा आधारित बैंकिङको सुरुवात भयो ।
त्यसपछिका दिनमा भने क्रमशः अन्य बैंक तथा वित्तीय संस्थाहरूले समेत प्रविधिमा आधारित बैंकिङलाई आत्मसाथ गरे । ‘म्यानुअल बैंकिङ’बाट सुरु भएको वित्तीय सेवा क्रेडिट कार्ड, डेबिट कार्ड, एटीएम हुँदै अहिले अत्याधुनिक इन्टरनेट बैंकिङदेखि मोबाइल बैंकिङसम्म आइपुगेको छ । अहिले वित्तीय कारोबारका लागि बैंक नै पुग्नुपर्दैन । संसारका कुनै पनि कुनामा बसेर इन्टरनेट वा मोबाइलमार्फत् बिल भुक्तानी गर्नेदेखि लिएर अर्को खातामा पैसा पठाउने कामसमेत सजिलै गर्न सकिन्छ । एउटा कार्ड बोकेर संसारका कुनै पनि कुनामा ‘सपिङ’ गर्न सकिन्छ ।
नेपालको सहरी क्षेत्रलाई हेर्ने हो भने न्यूयोर्क वा नयाँदिल्लीमा बैंकिङ गर्दा जे–जे सुविधा उपभोक्ताले पाउँछन्, त्यही सुविधा यहाँका बैंकहरूले समेत दिएका छन् । आइफ्लेक्स कम्पनीको फ्लेक्सक्युब, इन्फोसिसको ‘फिनाकल’, ग्लोबसको टि–२४ र मर्केन्टाइलको पुमोरीजस्ता विश्वका अमेरिका युरोपलगायतका अति विकसित राष्ट्रका वित्तीय संस्थाहरूले प्रयोग गर्ने सफ्टवेयर नेपालका बैंक तथा वित्तीय संस्थाहरूले प्रयोग गरिरहेका छन् ।
मास्टर कार्ड र भिसा कार्ड जस्ता अन्तर्राष्ट्रिय नेटवर्कका माध्यमले नेपालमा जम्मा गरेको पैसा संसारको कुनै पनि देशमा गएर खर्च गर्न मिल्ने सुविधा नेपाली उपभोक्ताले पाएका छन् । नेपालको स्थानीय कार्ड नेटवर्क ‘एससीटी’ का माध्यमले एउटा बैंकमा जम्मा गरिएको पैसा अर्को बैंकको एटीएमबाट निकै कम शुल्कमा निकाल्न सकिने भएको छ । आईटी क्षेत्रको विकाशले नै यो सबै सम्भव भएको हो ।
FACEBOOK COMMENTS