काठमाडौं । हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये एक दर्जन बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् ।
वाणिज्य बैंकहरूले पुस महिनाका लागि ब्याजदर घटाएसँगै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसत ब्याजदर पाँच प्रतिशतभन्दा तल झरेको छ ।
बैंकहरूले सार्वजनिक गरेको सूचनाअनुसार पुसका लागि व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४ं८३४ प्रतिशत विन्दु कायम भएको छ ।
मंसिर महिनामा सो दर ५.०४०५ प्रतिशत विन्दु थियो । पुसका लागि औसत ब्याजदर ०ं२०६५ प्रतिशत विन्दुले घटेको हो ।
यस्तै, १३ बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् । ब्याजदर घटाउनेमा प्राइम कमर्सियल बैंक, ग्लोबल आइएमई र राष्ट्रिय वाणिज्य बैंकले समान ०.५ प्रतिशत विन्दुले घटाएका छन् । प्रभु बैंक र कृषि विकास बैंकले ०.४ प्रतिशतले र कुमारी बैंकले ०.३८ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
सात वाणिज्य बैंक सिटिजन्स, माछापुच्छ्रे, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेस्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंकले मंसिर महिनाकै अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन् । पुसमा व्यक्तिगत मुद्दती निक्षेपमा ग्लोबल आईएमई बैंक र हिमालयन बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिनेछन् ।

सबैभन्दा कम ब्याजदर प्राइम कमर्सियल बैंकले ४.२५ प्रतिशत कायम गरेको छ । यसैगरी, संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.१३ प्रतिशत विन्दुले घटेको छ । पुसका लागि पाँच वाणिज्य बैंकहरूले संस्थागत मुद्दतीको अधिकतम ब्याजदर घटाएका छन् । यस्तै, बाँकी १५ बैंकले पुरानै दरलाई निरन्तरता दिएका छन् ।

FACEBOOK COMMENTS