काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत तेस्रो चरणको खेलमा बार्सिलोनाले राओ भालेकानोमाथि ५-२ गोलको शानदार जित निकाल्दै सिजनको लगातार तेस्रो जित दर्ता गरेको छ ।
गएराति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सुरुवातमै अप्रत्याशित झट्का बेहोरेको थियो । १२औँ मिनेटमा सर्जियो कामेलोले गोल गर्दै राओलाई अग्रता दिलाएका थिए ।
तर बार्सिलोनाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल उल्टाएको थियो । खेलको १९औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरे भने २१औँ मिनेटमा लामिन यामालले उत्कृष्ट प्रहारमार्फत बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । यामालको यो गोल बार्सिलोनाका लागि ५०औँ गोलसमेत बनेको थियो ।
दोस्रो हाफमा बार्सिलोनाले अग्रता थप फराकिलो बनायो । खेलको ५१औँ मिनेटमा राओका फ्लोरियन लेज्युनले आफ्नै पोस्टमा गोल गरेपछि बार्सिलोना ३-१ गोलले अघि बढेको थियो । खेलको ५९औँ मिनेटमा कामेलोले व्यक्तिगत दोस्रो गोल गर्दै राओलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर खेलको ७१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता ४-२ बनाएका थिए ।
खेलको ९०औँ मिनेटमा यामालले पनि व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाले ५–२ को जित सुनिश्चित गरेको थियो ।

यस जितसँगै बार्सिलोनाले तीन खेलबाट नौ अंक जोडेको छ । समान नौ अंक रहेको रियाल म्याड्रिडलाई गोल अन्तरमा पछि पार्दै बार्सिलोना तालिकाको शीर्ष स्थानमा पुगेको छ । राओ भालेकानो भने तीन खेलबाट एक अंकसहित १८औँ स्थानमा छ ।