काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुन:स्थापनाका लागि डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई १० करोड रुपैयाँभन्दा बढी मूल्यका निर्माण तथा उद्धार उपकरण सहयोग गरेको छ ।
बाढीका कारण जनजीवनसँगै घर, सडक तथा महत्वपूर्ण पूर्वाधारमा पुगेको क्षतिलाई मध्यनजर गर्दै कम्पनीले आपत्कालीन उद्धार, भग्नावशेष व्यवस्थापन तथा पुन:स्थापनाका लागि आवश्यक उपकरण उपलब्ध गराएको हो ।
कम्पनीले भदौ १०, २०८२ मा आएको भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रको पुन:स्थापना तथा पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले उक्त उपकरण प्रदान गरेको जनाएको छ ।
चार प्रकारका उपकरण सहयोग
डुसान बोबक्याट इन्डिया प्रालिले नेपाल सरकारलाई विभिन्न चार प्रकारका उपकरण उपलब्ध गराएको छ । सहयोग गरिएका उपकरणमा चार थान बबक्याट मिनी एक्साभेटरहरू,दुई थान बबक्याट ब्याकहो लोडरहरू,तीन थान बबक्याट स्किड स्टिर लोडरहरूर छ थान बबक्याट टावर लाइटहरूरहेका छन् ।

यी उपकरणहरू बाढीबाट प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, उत्खनन गर्ने, अवरुद्ध क्षेत्रमा पहुँच स्थापना गर्ने, सडक पुन:स्थापना गर्ने तथा अन्य आपत्कालीन उद्धार र पुन:स्थापनाका काममा प्रयोग गरिने जनाइएको छ ।

बाढीका कारण क्षतिग्रस्त सडक तथा पूर्वाधारमा पुन:स्थापनाका कामलाई गति दिन यस्ता उपकरणले सहयोग पुर्याउने कम्पनीको विश्वास छ ।

अधिकृत डिलरमार्फत उपकरण सञ्चालनका लागि तयार
नेपालका लागि डुसान बोबक्याटको अधिकृत डिलर एफ.जी. इन्कर्पोरेटेड प्रालिको सहकार्यमा उपकरणहरूको सर्भिस तथा तयारी कार्य सम्पन्न गरी सञ्चालनका लागि तयार पारिएको कम्पनीले जनाएको छ ।
उपकरणहरू आवश्यक प्राविधिक तयारीसहित नेपाल सरकारलाई हस्तान्तरण गरिएको जनाइएको छ । यसबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुन:स्थापनाका काममा आवश्यक मेसिनरी सहयोग उपलब्ध हुने अपेक्षा गरिएको छ ।
गृहमन्त्रीलाई औपचारिक हस्तान्तरण
सहयोगअन्तर्गत एफ.जी. इन्कर्पोरेटेड प्रालिका अध्यक्ष पवनकुमार गुप्ता, प्रबन्ध निर्देशक केदार लामिछाने, कम्पनीका निर्देशक पारितोष गुप्ता र विपिन लामिछानेले संयुक्त रूपमा नेपाल सरकारका गृहमन्त्रीलाई एक समारोहबीच उपकरण हस्तान्तरण गरेका छन् ।
औपचारिक हस्तान्तरणमार्फत कम्पनीले नेपाल सरकारसँगको सहकार्यमा विपद् उद्धार, राहत, पुन:स्थापना तथा पूर्वाधार पुनर्निर्माणका कार्यमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
डुसान बोबक्याट इन्डिया प्रालिले विपद्बाट प्रभावित समुदाय तथा नेपाल सरकारप्रति ऐक्यबद्धता जनाउँदै नेपालको उद्धार, पुन:स्थापना र पूर्वाधार पुनर्निर्माणका प्रयासमा निरन्तर सहयोग गर्ने जनाएको छ । कम्पनीले विपद्का बेला आवश्यक उपकरण तथा प्राविधिक सहयोगमार्फत प्रभावित क्षेत्रको पुन:स्थापना प्रक्रियामा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको हो ।