वीरगञ्ज । नेपालको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट गत आर्थिक वर्षमा १० अर्ब २२ करोड रुपैयाँभन्दा बढी मूल्यको दलहन आयात भएको छ ।
भारत तथा तेस्रो मुलुकबाट मुसुरो, सिमी–राज्मा, चना, रहर, केराउ र बकुल्लालगायतका गेडागुडी नेपाली बजारमा भित्रिएका हुन् ।
वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्षमा ११ अर्ब ४ करोड ६१ लाख रुपैयाँ बराबरको १० करोड १९ लाख किलो दलहन आयात भएकोमा गत वर्ष कुल १० करोड २७ लाख किलो भित्रिएको छ ।
यसरी तुलना गर्दा आयातको परिमाण ८ लाख किलोले बढे पनि कुल आयात मूल्य भने करिब ८२ करोड ६१ लाख रुपैयाँले घटेको देखिन्छ ।
आयातको परिमाण बढे तापनि कुल रकम घट्नुमा अन्तर्राष्ट्रिय तथा भारतीय बजारमा दलहनको मूल्यमा आएको गिरावटलाई मुख्य कारण मानिएको छ ।
तथ्यांकअनुसार अघिल्लो वर्ष प्रतिकिलो औसत १०८ रुपैयाँ ४० पैसा परेको दलहन गत वर्ष घटेर औसत ९९ रुपैयाँ ५० पैसामा आयात भएको छ, जसले प्रतिकिलो औसत आयात मूल्यमा करिब ८ प्रतिशतको गिरावट देखाउँछ ।
वस्तुगत विवरणअनुसार मुसुरो, सिमी–राज्मा र रहरको आयात रकममा कमी आएको छ भने चनाको आयात बढेको छ । गत आर्थिक वर्षमा मात्रै सबैभन्दा बढी ४ अर्ब २१ करोड रुपैयाँ बराबरको ४ करोड ६४ लाख किलो मुसुरो र २ अर्ब ६५ करोड रुपैयाँ बराबरको २ करोड १५ लाख किलो सिमी–राज्मा आयात भएको छ ।
नेपालमा दलहनको आन्तरिक उत्पादनले स्थानीय माग धान्न नसक्दा भारत र तेस्रो मुलुकमा निर्भर हुनुपरेको अवस्था छ। वीरगन्ज नाका मुख्य प्रवेशद्वार भएकाले देशमा खपत हुने दलहनको ठूलो हिस्सा यही नाकाबाट भित्रिने गर्छ ।
परिमाणमा भएको वृद्धिले नेपाली बजारमा दलहनको माग उच्च र यथावत् रहेको पुष्टि गर्छ । दैनिक खाद्य उपभोगको अत्यावश्यक वस्तु भएकाले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावले नेपाली उपभोक्ताको भान्सा र समग्र खर्चमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।