काठमाडौं । बेलायतको विकास वित्त संस्था तथा प्रभावमुखी लगानीकर्ता ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंक लिमिटेडबीच दुई करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ । उक्त सहकार्यको मुख्य उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यमलाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन गर्नु रहेको छ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा लघु, साना तथा मझौला उद्यम क्षेत्रको योगदान करिब २२ प्रतिशत रहेको छ भने यस क्षेत्रले झण्डै २० लाख मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ ।
तर, विश्व बैंक तथा नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वित्तीय संस्थाको सीमित पहुँच तथा बैंकिङ प्रक्रिया र उद्यमीको आवश्यकताबीचको असमानताका कारण औपचारिक वित्तीय प्रणालीमार्फत केवल १६ प्रतिशत लघु, साना तथा मझौला उद्यमले मात्र कर्जा सुविधा प्राप्त गर्न सकेका छन् ।
यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले लघु, साना तथा मझौला उद्यम क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्ने जनाएको छ । कुल कर्जा सुविधामध्ये ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिनेछ । यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई आवश्यक पुँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
बैंकले महिलाको आर्थिक सशक्तीकरणलाई प्रोत्साहन गर्ने विश्वव्यापी पहल ‘टु एक्स च्यालेन्ज’अन्तर्गत मान्यतासमेत प्राप्त गरेको छ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट उक्त पहलको संस्थापक सदस्यसमेत रहेको छ । बैंकको सुशासन, नेतृत्व, रोजगारी तथा कर्जा पोर्टफोलियोमा लैङ्गिक समावेशिताका क्षेत्रमा देखिएको प्रगतिका आधारमा उक्त मान्यता प्रदान गरिएको हो ।

साथै, ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टको प्राविधिक सहयोग कार्यक्रम “इन्भेस्ट फर इम्प्याक्ट नेपाल” ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको जनाएको छ ।

यससँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणालीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन र दिगो वित्तीय पहललाई टेवा पुर्याउने विश्वास व्यक्त गरिएको छ ।