काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र नेपालका लागि साउदी अरेबियाका राजदूत फाहद मोहम्मद ए मनिकरबीच मंगलबार नेपाल चेम्बर अफ कमर्स सचिवालयमा शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ ।
भेटका क्रममा द्विपक्षीय आर्थिक तथा व्यापारिक सम्बन्ध, लगानी प्रवद्र्धन, पर्यटन विकास तथा खाडी क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षालगायतका विषयमा विस्तृत छलफल भएको थियो ।
सो अवसरमा अध्यक्ष अग्रवालले साउदी अरेबिया नेपालका लागि अत्यन्त महत्वपूर्ण आर्थिक साझेदार रहेको बताए । विशेषगरी वैदेशिक रोजगारी, विप्रेषण (रेमिट्यान्स) तथा लगानीका सम्भावनाका कारण साउदी अरेबियाको भूमिका नेपालको अर्थतन्त्रमा महत्वपूर्ण रहेको उनले उल्लेख गरे ।
उनले हाल नेपाल र साउदी अरेबियाबीचको द्विपक्षीय व्यापार करिब १० मिलियन अमेरिकी डलर रहेको जानकारी दिँदै करिब ९ मिलियन डलर बराबरको आयात तथा १ मिलियन डलर बराबरको निर्यात भइरहेको बताए । श्रम सहकार्यमा मात्र सीमित नभई व्यापार, पर्यटन, लगानी तथा आर्थिक विकासका क्षेत्रमा समेत सहकार्य विस्तार गर्नुपर्ने उनको धारणा थियो ।
अध्यक्ष अग्रवालले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडीबुटी, सूचना प्रविधिलगायतका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै हालै सम्पन्न निर्वाचनपछि स्थिर सरकार बनेकाले निजी क्षेत्र उत्साहित रहेको र नेपालमा साउदी लगानी विस्तार गर्न आग्रह गरे ।

खाडी मुलुकबाट प्राप्त हुने रेमिट्यान्स नेपालको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक भएको उल्लेख गर्दै उनले साउदी अरेबियाले हजारौं नेपाली युवालाई रोजगारी प्रदान गर्दै आएको बताए । निर्माण, पूर्वाधार, सुरक्षा सेवा, आतिथ्य तथा पर्यटन, स्वास्थ्य सेवा, यातायात तथा लजिस्टिक्स क्षेत्रमा नेपालीहरू कार्यरत रहेको जानकारी उनले दिए ।

उनले साउदी अरेबियाको “भिजन २०३०” कार्यक्रमले नेपालका लागि नयाँ अवसर सिर्जना गरेको उल्लेख गर्दै नियोम, द रेड सी परियोजना तथा क्युदिया जस्ता मेगा परियोजनाहरूमा नेपाली जनशक्ति, ठेकेदार तथा सहयोगी उद्योगहरूले योगदान दिन सक्ने बताए ।

भेटका क्रममा राजदूत मनिकरले साउदी अरेबिया विदेशी लगानी तथा आर्थिक साझेदारीका लागि खुला हुँदै गएको बताए । आगामी सन् २०३४ को फिफा विश्वकप तथा एक्स्पो २०३० जस्ता अन्तर्राष्ट्रिय कार्यक्रमहरूले विभिन्न क्षेत्रमा लगानी सहकार्यका थप अवसर सिर्जना गर्ने उनको भनाइ थियो । साउदी अरबमा पछिल्लो समय अन्तर्राराष्ट्रिय कम्पनीहरु भित्रने क्रम बढेको तथा विदेशी लगानी थप आकर्षित हुँदै गएको उनले उल्लेख गरे ।
छलफलका क्रममा पश्चिम एसियाको विकसित परिस्थितिबारे समेत विचार आदानप्रदान भएको थियो । विशेषगरी त्यहाँ कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र हितका विषयमा दुवै पक्षले चासो व्यक्त गरेका थिए । राजदूत मिनखरले आफ्नो कार्यकालमा नेपाल(साउदी सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।
भेटका अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले नेपालमा लगानीको वातावरण अत्यन्तै सकारात्मक बन्दै गएको बताए ।
नेपाल र साउदी अरेबियाबीच सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । त्यसयता दुई देशबीचको सम्बन्ध श्रम सहकार्यबाट अघि बढ्दै व्यापार, पर्यटन, सुरक्षा, पूर्वाधार तथा लगानी सहकार्यासम्म विस्तार भएको छ । नेपालले सन् १९७८ मा रियादमा आफ्नो दूतावास स्थापना गरेको थियो भने साउदी अरेबियाले सन् २०२२ मा काठमाडौंमा दूतावास स्थापना गरेको हो ।