काठमाडौं । चितवन, झापा र रुपन्देहीका ५७ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित परिवारले जग्गाधनी पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
सम्बन्धित जिल्लाको भूमि समस्या समाधान समितिले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो ।
चितवनको इच्छाकामना गाउँपालिका ७ का ३२ भूमिहीन सुकुम्बासी र १ भूमिहीन दलित परिवारले लालपुर्जा प्राप्त गरेका छन्। त्यस्तै, झापाको अर्जुनधारा नगरपालिका वडा नं ११ का ७ अव्यवस्थित बसोबासी परिवारलाई लालपुर्जा वितरण गरिएको छ ।
यसैगरी, रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं ८ र ९ का १४ भूमिहीन दलित तथा २ भूमिहीन सुकुम्बासी परिवारले जग्गाधनी पुर्जा पाएका छन् ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि ५७ परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन् ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण तीव्र बनाएको छ ।
