काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले महाराजगञ्जस्थित निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालयमा ल्याएको दाबी गरेको छ।
गएराति करिब ३ बजे जबरा सुतिरहेको अवस्थामा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको निवास पुगेको थियो। प्रहरीले उनलाई आफूसँगै कार्यालयमा आउन आग्रह गर्दै प्रहरी कार्यालयमा ल्याएको बताइएको छ। उनलाई पक्राउ पुर्जी भने नदिइएको जनाइएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले कर्पोरेट खबरसँग कुरा गर्दै जबरालाई सुरक्षा थ्रेट भएपछि कार्यालयमा ल्याइएको बताए। उनले भने, “उहाँलाई सुरक्षा थ्रेट भएर ल्याइएको हो।”
तर, उनलाई के कारणले सुरक्षा चुनौती भएको हो भन्नेबारे कार्कीले खुलाएनन्। जबरालाई आजै छाडिन्छ कि भन्ने प्रश्नमा उनले भने, “उहाँविरुद्ध कुनै पक्राउ पुर्जी छैन। उहाँले सुरक्षा थ्रेट फिल गर्नुभएन भने आजै छुट्नुहुन्छ।”
यसअघि प्रहरीले जबरालाई पक्राउ गरिएको विवरण सार्वजनिक गरेको थियो। यद्यपि, प्रहरीले अहिले भने उनलाई सुरक्षा चुनौतीका कारण कार्यालयमा ल्याइएको र उनीविरुद्ध पक्राउ पुर्जी नरहेको स्पष्ट पारेको छ।

यो समाचार पनि पढ्नुस्–

बिना पक्राउ पुर्जी पूर्वप्रधानन्यायाधीश जबरा प्रहरी हिरासतमा, राति अकस्मात् आएको थियो मौखिक आदेश